भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यो उनको लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हो। उनले ७६ मिनेट भाषण गरे।
सम्बोधनका क्रममा मोदीले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसहित सरदार वल्लभभाइ पटेल, श्यामाप्रसाद मुखर्जी, नेताजी सुभाषचन्द्र बोस, डा. भीमराव आंबेडकर, भगत सिंह, सुखदेव, राजगुरु, भगवान् बिरसा मुन्डा र ज्योतिबा फुलेलाई स्मरण गरे।
भाषणको अन्त्यमा उनले स्वतन्त्रता आन्दोलनका नेताहरूले देखेको सपनाबाट प्रेरणा लिएर भारतलाई अघि बढाउनुपर्ने बताए।
मोदीले आफ्नो १२ वर्षे कार्यकालका उपलब्धि प्रस्तुत गर्दै युवा, महिला, किसान, गरिब तथा मध्यमवर्गीय परिवारलाई विशेष प्राथमिकता दिए। उनले सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प पनि दोहोर्याए।
‘वन्दे मातरम्’को चर्चा गर्दै उनले भने, ‘स्वतन्त्रतापछि पहिलोपटक लालकिल्लाको प्राचीरबाट ‘वन्दे मातरम्’को गुञ्जन सुनिएको छ। आज हामी सबै ८०औँ स्वतन्त्रता दिवस मनाइरहेका छौँ। जब भारतका जनता ‘वन्दे मातरम्’को १५० वर्ष मनाइरहेका छन्, योभन्दा राम्रो अवसर अरू के हुन सक्छरु’
उनले भारतको उत्पादन, कपडा उद्योग, रक्षा, रेलवे, यातायात तथा सञ्चार पूर्वाधार, औषधि उद्योग र स्टार्टअप क्षेत्रका उपलब्धि पनि उल्लेख गरे।
कोरोना महामारी र पछिल्ला युद्धका कारण उत्पन्न ऊर्जा संकटको चर्चा गर्दै मोदीले आफ्नो सरकारले ती संकटको सामना गरेको दाबी गरे। साथै, लोकसभा र विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण कार्यान्वयन गर्न उनले सबै राजनीतिक दललाई आह्वान गरे।
मोदीले विकसित भारत निर्माणका लागि ‘शक्तिको सप्तधारा’को दृष्टिकोण प्रस्तुत गरे। त्यस क्रममा उनले नक्सलवाद र माओवादी हिंसाको विषयलाई पनि प्राथमिकताका साथ उठाए।
उनले नक्सलवाद र माओवादी विचारधाराले लाखौँ युवाको भविष्य बर्बाद गरेको तथा अभिभावकका सपना चकनाचुर पारेको दाबी गरे।
‘चार दशकसम्म नक्सलवादले भारतको ठूलो भूभाग र ठूलो जनसंख्यालाई बन्दुकको बलमा दबाएर राख्यो। संविधानको धज्जी उडाइयो,’ उनले भने।
नक्सलवादी हिंसाविरुद्धको अभियानमा ३ हजार ५ सयभन्दा बढी प्रहरी तथा सुरक्षाकर्मी सहिद भएको उनले बताए।
मोदीले सन् २०१४ मै भारतलाई नक्सलवादबाट मुक्त गर्ने संकल्प लिएको र अहिले नक्सल तथा माओवादी हिंसा अन्तिम अवस्थामा पुगेको दाबी गरे।
तर उनले ‘दिमागी नक्सल’ चुनौती अझै रहेको भन्दै सावधान रहनुपर्ने बताए।
‘जंगलमा हतियार बोकेका नक्सलीलाई समाप्त गर्न सफलता मिलेको छ। हतियारधारी नक्सली त गए, तर यी दिमागी नक्सली अवसरको खोजीमा छन्,’ मोदीले भने।
उनले यस्ता व्यक्तिहरूले हिंसा र अराजकताको बाटो खोल्ने प्रयास गरिरहेको दाबी गर्दै उनीहरूलाई पहिचान गरी अलग्याउनुपर्ने बताए।
मोदीले आफ्नो सरकारको १२ वर्षे कार्यकालमा भारतले तीव्र आर्थिक विकास गरेको दाबी गरे।
उनका अनुसार २५ करोड भारतीय नागरिक गरिबीबाट बाहिर आएका छन्। सन् २०१४ मा भारतलाई विश्वले ‘फ्रेजाइल फाइभ’मा राखेको उल्लेख गर्दै उनले पछिल्लो १२ वर्षमा भारतले नयाँ गति हासिल गरेको बताए।
उनले पछिल्लो १२ वर्षमा रक्षा उत्पादन चार गुणा, खादी तथा ग्रामोद्योग पाँच गुणा र मोबाइल फोन उत्पादन ३३ गुणाले बढेको दाबी गरे। डिजिटल कारोबार १०० गुणा बढेको तथा पेटेन्ट स्वीकृतिको संख्या चार गुणा बढेको पनि उनले बताए।
मोदीले गरिबका लागि शौचालय तथा घर निर्माण, मेट्रो विस्तारलगायतका काम तीव्र गतिमा भएको दाबी गरे।
उनले भारत अब अन्य देशमा निर्भर भएर नभई आत्मनिर्भर बन्नुपर्ने बताए। ‘मेक इन इन्डिया’, ‘लोकल फर भोकल’ र ‘आत्मनिर्भर भारत’ अभियानलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
मोदीले भारतमा तीनवटा सेमिकन्डक्टर प्लान्ट स्थापना भइसकेको र उत्पादनसमेत सुरु भएको बताए। आगामी ७–८ वर्षमा थप पाँचदेखि आठवटा सेमिकन्डक्टर प्लान्ट सञ्चालनमा आउने उनले दाबी गरे।
क्रिटिकल मिनरल्समा पनि विश्वले भारततर्फ हेरिरहेको उनले बताए।
चिप, कृत्रिम बौद्धिकता र डेटा सेन्टरका लागि ठूलो मात्रामा ऊर्जा आवश्यक पर्ने भन्दै उनले ऊर्जा सुरक्षा महत्वपूर्ण रहेको बताए। परमाणु ऊर्जामा आत्मनिर्भर बन्न भारतले कदम अघि बढाएको उनको भनाइ थियो।
मोदीले समुद्री क्षेत्रमा तेल तथा ग्यासको खोजीलाई पनि अघि बढाइएको बताए। यसका लागि ८५ हजार करोड रुपैयाँ लागतको ‘समुद्र मन्थन’ योजना घोषणा गरिएको उनले जानकारी दिए।
उनका अनुसार सन् २०१४ अघि भारतका ७० सहरमा मात्रै पाइपबाट ग्यास उपलब्ध थियो भने अहिले यो संख्या ७०० सहर पुगेको छ। त्यसैगरी पाइपबाट ग्यास पुर्याइएका घरको संख्या २०–२२ लाखबाट बढेर करिब पौने दुई करोड पुगेको उनले बताए।
सौर्य ऊर्जाको क्षमता सन् २०१४ मा दुई गिगावाट रहेकोमा अहिले १६० गिगावाट पुगेको पनि उनले दाबी गरे।
रेलवे विद्युतीकरणतर्फ पनि ठूलो प्रगति भएको बताउँदै मोदीले ९० वर्षमा ३० प्रतिशत मात्रै रेलमार्ग विद्युतीकरण भएकोमा पछिल्लो एक दशकमा थप ७० प्रतिशत काम पूरा गरिएको दाबी गरे।
भारतले हाइड्रोजनबाट चल्ने रेलसमेत सुरु गरेको उनले बताए।
मोदीले कोरोना महामारीपछि रुस–युक्रेन युद्ध तथा पश्चिम एसियाको युद्धका कारण विश्वले थप संकट सामना गर्नुपरेको बताए।
त्यतिबेला भारतमा खोप नपाइने, मानिसहरू बच्न नसक्ने, पेट्रोल तथा ग्यासको अभाव हुने र मल नपाइने भन्दै केही मानिसले डर फैलाएको उनले आरोप लगाए।
तर भारतले ती सबै संकट पार गरेको दाबी गर्दै उनले अहिले देशमा ग्यास, पेट्रोल र युरिया उपलब्ध रहेको बताए।
विश्व बजारमा युरियाको मूल्य प्रतिबोरा ३ हजार रुपैयाँसम्म पुगेको भए पनि भारतीय किसानलाई ३०० रुपैयाँमा उपलब्ध गराउन सकिएको उनले बताए।
त्यसैगरी डीएपी मलको अन्तर्राष्ट्रिय बजार मूल्य ५ हजार रुपैयाँ पुगे पनि भारतमा किसानलाई सस्तो मूल्यमा उपलब्ध गराइएको उनको दाबी छ।
मोदीले सन् २०४७ सम्म विकसित भारत बनाउने लक्ष्य बलियो आधारमा उभिएको बताए।
‘अब हामी रोकिन सक्दैनौँ। हाम्रो दिशा तय भइसकेको छ,’ उनले भने।
उनले काम गर्ने शैली र कामको गति परिवर्तन गर्नुपर्नेमा जोड दिए। पाँच दशकमा पूरा हुन नसकेका काम आगामी पाँच वर्षमा पूरा गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी रिफर्म एक्सप्रेसतर्फ अघि बढिसकेका छौँ। आगामी दिनमा पनि रिफर्मलाई निरन्तरता दिनेछौँ,’ मोदीले भने।
विकसित भारत निर्माणका लागि ‘शक्तिको सप्तधारा’ आवश्यक रहेको बताउँदै उनले युवा शक्ति, उत्पादन, प्रविधि, कृषि तथा अन्य क्षेत्रमा सुधार गर्नुपर्ने बताए।
मोदीले भारतको उत्पादन क्षेत्रलाई अझ विस्तार गर्नुपर्ने बताए। साना पुर्जादेखि ठूला मेसिनरीसम्म भारतमै उत्पादन गर्नुपर्ने उनको भनाइ थियो।
डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण मूल्य शृंखलामा भारतले विश्वको विश्वास जित्नुपर्ने उनले बताए।
‘लागत, गुणस्तर र परिमाणका आधारमा विश्वस्तरीय मापदण्ड पूरा गर्नुपर्छ,’ उनले भने।
भारतको उत्पादनको पहिचान ‘शून्य दोष’ हुनुपर्ने भन्दै उनले उत्पादकहरूलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे।
खाद्य प्रशोधन उद्योगलाई पनि अघि बढाउनुपर्नेमा जोड दिँदै उनले किसानको खेतदेखि बजारसम्मको आपूर्ति शृंखला बलियो बनाउनुपर्ने बताए। किसानलाई रासायनिक पदार्थमुक्त खेतीतर्फ अघि बढाउने पनि उनले बताए।
मोदीले विकसित भारत निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने बताए।
भारतमा २ लाख ५० हजारभन्दा बढी दर्ता भएका स्टार्टअप रहेको जानकारी दिँदै उनले युवाका सपनालाई पखेटा दिन १ लाख करोड रुपैयाँ छुट्याइएको बताए।
मोदीले ‘नारी शक्ति वन्दन अधिनियम’को पनि चर्चा गरे। उनले सबै राजनीतिक दललाई लोकसभा र विधानसभामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न योगदान गर्न आग्रह गरे।
‘म लालकिल्लाबाट, तिरंगाको छायामुनिबाट सबै राजनीतिक दललाई प्रार्थना गर्छु—महिलाको सम्मानका लागि अघि आउनुहोस् र विधानसभाहरू तथा संसद्मा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व दिने कार्यमा आफ्नो योगदान गर्नुहोस्,’ मोदीले भने।
मोदीले २०४७ सम्म विकसित भारत निर्माण गर्ने लक्ष्य हासिल गर्न सुधार, आत्मनिर्भरता, प्रविधि, ऊर्जा सुरक्षा, उत्पादन र युवा शक्तिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।


