काठमाडौं, १ भदौ । नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले युवतीसहित होटलबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो। त्यसपछि स्थानीयले उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए।
जिम्मेवारी र प्रहरी संगठनको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन्। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट ‘उत्कृष्ट प्रहरी’ समेत घोषित भएका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीले स्थानीयले खबर गरेपछि श्रेष्ठसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको पुष्टि गरे।
‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्। थप अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


