काठमाडौं, १ भदौ ।
बैदेशिक रोजगार व्यवसायीहरूले आजदेखि कार्यालय बन्द बैदेशिक रोजगार सेवासँग सम्बन्धित काम ठप्प पारेका छन् ।
सरकारले वैदेशिक रोजगार व्यबसायी संघका तर्फबाट प्रस्तुत भएका मागहरू सुनुवाइ नगरेको भन्दै व्यवसायीहरूले आजदेखि श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने काम बन्द गरेका हुन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले म्यानपावरलाई दिनुपर्ने सेवा शुल्क तोकिनुपर्ने, विद्यमान नीति नियम तथा कानुनमा संशोधन गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुँदे माग उनीहरूले अघि सारेका छन् ।
व्यबसायीहरुको मागप्रति लामो समयदेखि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार मौन बस्दै आए पनि श्रम मन्त्रालयका तर्फबाट वार्ताको प्रयास भइरहेकाले आजै मुद्दा केन्द्रीत वार्ताले मोड लिनसक्ने पनि बताइएको छ ।
यसअघि व्यवसायीले आन्दोलन अन्तर्गत वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा तथा सुविधा नलिने घोषणा गरेका थिए । आजदेखि आफ्ना कार्यालय बन्द गरेर श्रमिकलाई विदेश पठाउन समेत रोकेका हुन् ।
वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायीले पूर्वनिर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाएको र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिएको बताए । संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो ।


