काठमाडौं, १ भदौ ।
सरकारले बैदेशिक रोजगार व्यवसायीहरुसँग ४५ दिनभित्र माग पूरा गर्ने सहमति गरेको छ ।
व्यबसायीहरुसँग आज र श्रम तथा रोजगार मन्त्रालयले गरेको वार्तामा ४५ दिनभित्र १५ बुँदे माग पूरा गर्ने सहमति जुटेको हो । यससँगै व्यबसायीहरुले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उनको भनाइ छ । व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुदे माग अघि सारेका थिए । ती मागको सुनुवाइ नभएको भन्दै आजदेखि व्यवसायीहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विषयलाई लिएर विभिन्न १५ बुँदे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
संघले उठाएका अधिकांश माग नीतिगत सम्बोधनसँग सम्बन्धित छन् । ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेत समावेश भइरहेका विषय भएकाले संशोधन प्रक्रियामार्फत सम्बोधन गर्न मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ ।


