काठमाडौं, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना अटेरी सांसदहरुप्रति रुष्ट देखिएको छ ।
२१ फागुनको निर्वाचनमा १ सय ८२ सिट ल्याएको रास्वपाले पार्टीका सांसदहरु अटेरी बनेर संसदीय काममा गैरजिम्मेवार देखिदैं गएपछि दोहोरो हाजिरीको प्रस्ताव राखेको छ ।
यो उसले आफ्नै अराजक र गैरजिम्मेवार बनिरहेका सांसदहरुलाई लगाम लगाउन प्रस्ताव राखिएको हुनसक्ने धेरैले आँकलन गरेका छन् ।
सांसदले संसद बैठकमा प्रवेश गर्दा र निस्किदा अनिवार्य हाजिर गर्नुपर्ने रास्वपाले प्रस्ताव गरेको छ । रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर सांसदहरू आउँदा र फर्किदा हाजिरी गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पछिल्लो समय सांसदहरू बैठकमा हाजिर गरेर संसद बंक गर्दै हिँड्न थालेपछि रास्वपाले कडाइ गर्न यो प्रस्ताव गरेको हो ।
विधेयक संसदमा प्रस्तुत गर्दा तीन दर्जन सांसद पनि उपस्थित नभएको सभामुख डिपी अर्यालको गणनामा तथ्य सार्बजनिक भएपछि रास्वपा बदनाम भएको थियो । त्यसयता रास्वपाका सांसदहरु सबैतिरबाट आलोचनाको केन्द्र बन्दै आएका छन् ।


