काठमाडौं, २ भदौ ।
नेकपा एमालेको अनुशासन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहराले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
पार्टीलाई रुपान्तरण गर्न पुनर्गठन र पुर्नजागरणको आवाज उठाउने नेता–कार्यकर्तामाथि ओलीले केही दिनयता ‘आवारा’, ढाडिएको किर्ना जस्ता शब्द प्रयोग गरेर तुच्छ गाली गर्दै आएका छन् । तिनै अभिव्यक्तिलाई लिएर तत्कालीन कोअर्डिनेशन केन्द्रका संस्थापक नेतासमेत रहेका बोहोराले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बोहराले अरूलाई तुच्छ गाली गर्नु, होच्याउनु र त्यसबाट चर्चामा आउनु ओलीको ‘परम्परागत दुर्गुण’ भएको टिप्पणी गरेका छन् ।
मुलुक र पार्टीमा विभिन्न समस्या देखिएको अवस्थामा पार्टीलाई कसरी बलियो बनाउने र माथि उठाउने भन्ने विषयमा चिन्ता गर्नुपर्नेमा इलाम र झापामा आयोजित भेलामा पुगेर पुनर्गठन तथा सुधारको आवाज उठाउने इमानदार नेता–कार्यकर्तालाई ‘उरन्ठ्यौला’, ‘आवारा’ र भैँसीमा टाँसिएको ‘किर्ना’ जस्ता शब्द प्रयोग गरिएको भन्दै बोहराले प्रश्न उठाएका हुन् ।
‘अरूहरू आवारा र किर्ना हुन् भने उहाँ चाहिँ के भगवान् हो ?’ भन्ने प्रश्न उठानसहित बोहराले ओलीप्रति व्यंग्य कसेका छन् । उनले यस्तो घमण्ड नगर्नसमेत ओलीलाई सुझाव दिएका छन् ।
बोहराले ओलीको अभिव्यक्तिबाट कम्युनिस्ट आन्दोलनमा लागेका नेता–कार्यकर्ता उत्तेजित हुन नहुने बताएका छन् । ओलीको राजनीतिक चिन्तन र चेतनाको स्तरबारे यस्ता अभिव्यक्तिले नै प्रस्ट पार्ने दाबी गर्दै उनले अब गालीगलौजभन्दा बाहिरबाट ओलीबाट धेरै अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन् ।
बोहोराले पार्टी रूपान्तरणको अभियानलाई अझ सघन र तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् । हजारौँ नेता–कार्यकर्ताको मेहनत, त्याग र बलिदानबाट निर्माण भएको नेकपा एमालेलाई जोगाउन र बलियो बनाउन दृढतापूर्वक अघि बढ्नुको विकल्प नरहेको बोहराको भनाइ छ ।
‘समयको माग यही हो’ भन्दै बोहराले पार्टीभित्र सुधार, पुनर्गठन र रूपान्तरणको आवाजलाई थप सशक्त बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।


