काठमाडौँ, असोज ९
अन्तरिम सरकारले भ्रष्टाचारका फाइल खोल्ने तयारीगरेसंगै पुराना दलनका नेतामा डर पैदा भएको छ।
डरको सङ्केत सबैभन्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देखाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्।
उनले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा यी विषय उल्लेख गरेका हुन्।
‘जेन–जी आन्दोलनपछि सरकार बने पनि हाम्रा उपलब्धिहरू माथिको सङ्कट अझै टरेको छैन,’ उनले भनेका छन्, ’विभिन्न बहानामा अराजकता फैलाउने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुन लागेको छ।’
लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्रमार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेको उनले बताएका छन्।
जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबै पक्ष लाग्नुपर्ने दाहालले बताएका छन्।
