काठमाडौँ, असोज ९
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हालैका जेन–जी आन्दोलन र त्यसपछि भएका घटनाप्रति गहिरो दुख व्यक्त गर्दै अव पार्टीलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन्।
इतिहास उद्धृत गर्दै उनले सङ्कटका हरेक घडीमा पुनर्गठन नै समाधान भएको स्मरण गराए। सोभियत पतनपश्चात् मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र २०६१ सालको राजतन्त्र विरोधी सङ्घर्षलाई उदाहरण दिँदै उनले अहिले पनि नयाँ चेतनाबाट पुनर्गठन आवश्यक भएको स्पष्ट पारे।
भदौ २३ को जेन–जी आन्दोलनमा प्राण गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको स्वास्थ्यलाभको कामना गरे। तर भदौ २४ गतेको ‘अकल्पनीय विध्वंस’ ले आर्थिक, सामाजिक र सांस्कृतिक संरचना नै भताभुङ्ग बनाएको उल्लेख गरे।
पार्टी र नेतृत्वप्रति उठेका प्रश्नलाई आत्मालोचनासहित सम्बोधन गर्नुपर्ने उनको धारणा छ। ‘बदलिएका अपेक्षाहरू पूरा गर्न नसकेकोमा हामी माफी चाहन्छौँ,’ भट्टराईले भने, ‘भदौ २३ ले दिएको सकारात्मक सन्देशलाई ग्रहण नगरी मुलुकलाई अगाडि बढाउन सकिँदैन ।
उनका अनुसार जेनजी आन्दोलनमाथिको दमनको छानबिन आवश्यक छ भने आन्दोलनलाई गलत समूहले अपहरण गरी हिंसा र आगजनीमा रूपान्तरण गरेको घटनाको पनि सत्य तथ्य बाहिर आउनुपर्ने आवश्यकता छ। उनले छिमेकी र मित्र राष्ट्रहरूप्रति लोकतान्त्रिक प्रक्रिया र विकासको चाहनामा सहयोग गर्न आग्रह गरे।
