काठमाडौ असोज ८
प्रधानमन्त्री सुशील कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवालाई शहीद घोषणा गरिएको बताउँदै यसका दोषीमाथि सख्त कारबाही हुने बताएकी छिन् ।
उनले यो घटनामा ज्यान गुमाउनुपर्ने कारण कसरी आयो त्यसको खोजविन गरी सम्बद्ध दोषीलाई सख्त कारबाही गरिने बताएकी हुन्।
‘जेन जी प्रदर्शनका क्रममा जुन क्षति भयो । यो अकल्पनीय हो । क्षतिप्रति दुःख व्यक्त गर्दछु । ज्यान गुमाएका युवाको परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ ,’ बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘ साथै घाइतेको निःशुल्क औषधि तथा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । सम्बद्ध दोषीमाथि कारबाही गरिने प्रतिबद्धता जनाउँछु।’
उनले आफ्नो कार्यभार निर्वाचन भएको पनि बताउँदै ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गराउने बाचा दोहोराइन् ।
