काठमाडौं, असोज १५
सर्लाहीमा माटोमा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाको हरिपुर्वामा महोत्तरीका चार जनाको माटो खनिरहेको अवस्थामा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिकास्थित हर्दी नदीमा माटो खनिरहेको अवस्थामा ढिस्को खस्दा महोत्तरीका तिन बालबालिकासहित चार जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिपूर्वा नपा १ स्थित हर्दी नदीमा बुधवार विहान ९.२० बजेको समयमा खुर्पाले माटो खन्ने क्रममा माटोको ढिस्को माथिबाट खसेर ढिस्कोमा पुरिएर गम्भीर भएका महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानाका चारै जनालाई अस्पतालसम्म पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महोत्तरी सोनमा गाउँपालिका ६ मगरथाना घर भएका बेधु मंसुरको ६५ बर्षीया श्रीमती सायदा खातुन, उदय मंसुरकी ६ बर्षीया छोरी सविवा खातुन, अल्लाउदिन मंसुरको ८ बर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ नर्गिस खातुन गम्भीर घाइते भएर प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले १०.४५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहप्रवक्ता बालिष्टर सिंहले जानकारी दिएका छन् ।
सर्लाही र महोत्तरीको सिमानामा पर्ने हर्दी नदीमा माटो खन्ने क्रममा दुखद घटना भएको जानकारी पाउनासाथ प्रहरी निरीक्षक बालिष्टर सिंहको कमाण्डमा खटिएका टोलीले घटनास्थलको आवश्यक अनुसन्धान गरेर मृतकहरुको चारै जनाको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन् ।