काठमाडौं, असोज २०
भरतपुरका दीपेन्द्र कुँवर आइतबार बिहानै काठमाडौं जाने तयारीमा थिए । परिवार सहित दशैँ मनाउन चितवन आएका क्षेत्री ठाउँठाउँमा गएको पहिरोका कारण उनी जान सकेनन् । ‘भान्जा (पवन)को आइतबार साँझ फ्लाइट थियो,’ उहाँलाई बिहान बाइकमा पठाएर हामी यतै रोकिएका छौँ,’ कुँवरले भने ‘नारायणगढ–मुग्लिन–नागढुंगा सडक खण्डमा गएको पहिरोले हामी भरतपुरमै रोकिन पुगेका छौँ।’
संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । यसपालि भने तुईन खोलामा सुख्खा पहिरो जति बेला पनि खसिरहन्छ । अर्को तर्फ सडक विस्तारको क्रममा रहेको मुग्लिन–नागढुंगा सडक खण्डका विभिन्न ठाउँमा माथिबाट पटक पटक पहिरो खस्दा थप सास्ती थपिएको छ ।
आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक राम क्षेत्री काठमाडौं पुग्न हतारिएका थिए । दिउँसो २ बजे पुल्चोक निस्केका तामाङलाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो । ‘यहाँ कतिखेर पहिरो खस्छ, थाहै हुन्न । ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ,’तामाङले भने, ‘अहिले त मुग्लिनदेखि नागढुंगासम्म समस्या उस्तै छ।’ आइतबार बिहानसम्म सडक अवरुद्ध थियो । बर्खायाममा यो खण्ड छिचोल्न निकै सकस हुने गरेको उनी बताउँछन् । सडकमाथिबाट खस्ने पहिरोका कारण केही वर्षयता बर्खायाममा सास्ती खेप्दै आएको उनी बताउँछन् ।
बेलाबेला खसिरहने पहिरोका कारण सो खण्डमा कुन बेला कहाँनिर पुगेर रोकिनुपर्ने भन्ने ठेगान नै हुन्न । राजमार्ग खुल्ने र बन्द हुने भइरहँदा सवारी लामो समय राजमार्गमा रोकिने गरेका छन् । मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा चितवन हुँदै आउजाउ गर्ने यात्रुले त मार खेपेकै छन्, राजमार्गको त्यो अप्ठेरोको मारमा पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्ने यात्रु पनि पर्ने गरेका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ । त्यसपछि यात्रुहरू चितवन र काठमाडौंतिर बाँडिने गर्छन् । मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा तनहुँको आबुखैरहनी तर्फ पनि अवरुद्ध हुने गर्दछ ।
असार महिनादेखि यता करिव ३५ पटकसम्म पहिरो खसिसकेको छ । असोज सात गएको पहिरो झण्डै ५८ घण्टापछि पन्छाएर सडक सञ्चालनमा आएको थियो । त्यसको अघिल्लो साता असोज ३ गते गएको पहिरोले ४६ घण्टासम्म सडक अवरुद्ध हुनुपरेको सडक डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ । तुइन खोलामा पछिल्ला दिनमा साना पहिरो दैनिक जसो खस्ने गरेकोसडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताए।
कार्यालयले नारायणगढ मुग्लिन सडक खण्डको २० किलोमिटरको दुरीमा पर्ने २२ वटा स्थानलाई विशेष जोखिम क्षेत्रमा राखेको छ । त्यसमध्ये यसपालि विशेष गरेर तुइन खोला, नाम्सी खोला र कालिखोलामा पहिरोको खसिरकेको घिमिरेले जानकारी दिए । ‘हामीलाई यसपालि निकै दुःख दिएको तुइन खोलाले हो । यहाँ हामीले पहिरो हटाउन मात्रै नियमित छ जना प्राविधिक खटाउन गरेका छौँ,’ उनले भने ‘सेतिदोभानमा रेडि अवस्थामा एक्साभेटर राखिरहेका हुन्छौँ। जोखिम मोलेर अपरेटरले काम गरिरहनुभएको छ ।’ असोज ९ गते १० जना अपरेटर खटिएका थिए ।
नारायणगढ–मुग्लिन सडक एक घण्टा कम समयमै वारपार हुन सक्ने गरी एसियाली मापदण्डअनुसार दुई लेन फराकिलो बनाइएको छ । साना गाडीले अन्य मार्ग रोजे पनि ठुला बस र सामान ढुवानी गर्ने ट्रकलाई यो मार्गको विकल्प छैन । ३ अर्ब रूपैयाँ खर्चेर विस्तार भएको यो खण्डका ३१ ठाउँमा देखिएको पहिरोको समस्या नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले थप ३० करोड रूपैयाँ खर्च गरेको थियो । तर, अन्य ठाउँबाट पहिरो जाँदा यस सडकखण्ड थप जोखिममा परेको छ ।
सडक विस्तारको क्रममा रहेको मुग्लिन–नागढुंगा सडक खण्डमा पनि माथिबाट पहिरो खसिरहन्छ । मुग्लिन–नागढुंगा सडक आयोजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार खतौडि, फिस्लिङ, जवाङ, घोप्टेभिर, चलानघाट, जोगिमारा लगायतका ७ स्थानमा पटक पटक पहिरो खसिरहेको छ । यहाँ पहिरो हटाउनका लागि हुग्दिखोला, मलेखु र कुरिन्टारमा मेशिनहरु तयारी अवस्थामा राखिने गरेको उनले बताए ।
नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तारको काम २०७९ को मध्यतिरबाट सुरु गरिएको हो । यस सडक खण्डको मुग्लिन देखि मलेखुसम्मको ३९ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरिएको छ । यस क्षेत्रमा हालसम्म ३५ प्रतिशत मात्र प्रगती भएको उनले बताए । उनका अनुसार यस सडक विस्तारको अवधि एक वर्ष बाँकी छ । राजधानी छिर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको यस सडकखण्ड विस्तारको काम अपेक्षाकृत नभएको सरोकारवाला बताउँछन् । यो सडकमा दैनिक २० हजार बढी ठुला गाडी ओहोरदोहोर गर्छन् ।
आइतबार पनि साँझ ६ बजेपछि बन्द
आइतबार पनि साँझ ६ बजेपछि नारायणघाट मुग्लिन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर चितवन आउने र यहाँबाट बाहिर जाने सवारी साधनहरूलाई साँझ ६ बजेभित्र आईरगईसक्न आग्रह गरेको हो ।
असोज १८ देखि २० गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राखेर रातिको समयमा चितवनमा पर्ने राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
चितवन र आसपासका क्षेत्रमा गएरातिदेखि पानी परेको छैन। सडकमा रोकिएका सवारी साधनहरुलाई प्रशासनले आइतबार दिउँसोदेखि नै गन्तव्यतर्फ पठाइरहेको छ । साँझ ६ बजेपछि काठमाडौं, पोखरातर्फ जान आउने गाडीहरुलाई तोकिएका होल्डिङ स्पेसमा राखिने उनले बताए ।
हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो ।
शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंँ जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि यातायात व्यवसायीसँग समन्वय गरेर विमानस्थलबाटै काठमाडौं तर्फ पठाइएको थियो ।
