कैलाली, असोज २०
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मंगलबारसम्म हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार हाल बङ्गालको खाडीबाट सक्रिय भएको मनसुनी प्रणालीका कारण प्रदेशका केही भागमा मौसम बदलीसँगै वर्षा हुन सक्छ।
महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका प्रमुख इन्जिनियर संजय साहका अनुसार मनसुन पूरै समाप्त नभएकाले र स्थानीय वायुप्रणालीको असरले गर्दा कञ्चनपुर र कैलालीका केही क्षेत्रमा वर्षा सम्भावित छ। “हालको अवस्थामा ठुलो वर्षाको जोखिम छैन, तर स्थानीय वायुले मौसममा आंशिक प्रभाव पारेको देखिन्छ,” इन्जिनियर साहले जानकारी दिए।
सोमबार कञ्चनपुर र कैलालीमा आंशिक बदलीसँगै सामान्य वर्षा भएको बताइएको छ। आगामी एक-दुई दिन मौसम यस्तै रहने देखिएको र सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रदेशभर व्यापक वर्षा नहुने भए तापनि, स्थानीय स्तरमा वर्षाले सामान्य जनजीवनमा असर पुर्याउन सक्ने सम्भावना भएकाले सतर्कता आवश्यक रहेको कार्यालयले जनाएको छ।
