बैतडी, असोज २०
बैतडीको पाटनमा सुरु गरिएको नयाँ सहर आयोजनाको १४ वर्ष बितिसक्दा पनि योजना अधुरै रहेको छ। २०६८ सालमा सुरु भएको यो आयोजनामा जग्गा एकीकरण (ल्याण्डपुलिङ) को विषय अझै पनि अल्झिँदै जाँदा, आयोजनाको भविष्य अन्यौलमा परेको छ।
स्थानीयसँग पटक–पटक छलफल गरिए पनि ल्याण्डपुलिङको टुङ्गो लाग्न नसक्दा बनाइएका संरचना प्रयोगविहीन बन्न पुगेका छन्। हिरापुर मनोरञ्जन पार्क, बसपार्क, खुला मञ्च र सडकहरू निर्माण भएर पनि उपयोगमा आउन नसकेका हुन्।
५० करोडको लगानी, तर परिणाम शून्य
आयोजनाले हालसम्म ५० करोड रुपैयाँभन्दा बढीका संरचना निर्माण गरिसकेको छ। यद्यपि, ती संरचना उपयोगमा नआउँदै जिर्ण बन्दै गएका छन्। बसपार्क र हिरापुर मनोरञ्जन पार्क जस्ता संरचना सञ्चालनमा ल्याउने प्रयास भए पनि जग्गा विवादको कारणले ठोस उपलब्धि देखिएको छैन।
“यस वर्ष बसपार्कलाई रंगरोगन गरेर नगरपालिकालाई हस्तान्तरण गरेका छौँ”, आयोजनाका निमित्त प्रमुख रुद्रनारायण दासले बताए। तर, अझैसम्म ती संरचना स्थानीयको दैनिक जीवनमा प्रभाव पार्न सकेका छैनन्।
विमानस्थल सञ्चालनविहीन, घाँस पलाउँदै
पाटन विमानस्थलका लागि पनि करिब १७ करोड रुपैयाँ खर्चिएर धावनमार्ग र टर्मिनल भवन निर्माण गरियो। कालोपत्रेपछि केही समय उडान भए पनि २०७८ सालको चैत १० गतेदेखि हालसम्म कुनै पनि विमान पाटन अवतरण गरेको छैन।
हाल विमानस्थल एक जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ। अन्य कुनै कर्मचारी छैनन्। “एक्लै बसेर हेरिरहेछु”, कार्यालय सहयोगी रोहित अवस्थी भन्छन्।
सहरको सपना, वास्तविकतामा अन्यौल
सरकारले पहाडको बसाइँसराइ रोक्न र शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सुविधा दिने लक्ष्यसहित मध्यपहाडी लोकमार्गको आसपास १० वटा नयाँ सहरको परिकल्पना गरेको थियो। तर, बैतडीको पाटनमा भने यो योजना अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।
पाटनवासी केशव खत्री भन्छन्, “सरकारले सहर बनाउने भन्यो, तर अहिले संरचनामा लेउ जमिरहेको छ।”
पाँचथरदेखि झुलाघाटसम्मको योजनामा पाटन पछाडि पर्दै जाँदा स्थानीय निराश छन्। नगरप्रमुख गौरीसिंह रावल भन्छन्, “जग्गा एकीकरणको विवाद मिलाउन प्रयास जारी छ, तर टुङ्गो लाग्न समय लागिरहेको छ।”
