काठमाडौं, असोज २३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा बयान लिएको छ । विमानसथलमा भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई आयोगले विहिबार दिउसो बयान लिएको हो ।
चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएका थिए । विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट उन्मुक्ति पाएका थिए ।
तर महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको छ ।
भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन । पछि पुनः अनुसन्धानमा तानिएका उनी अनुसन्धानकै क्रममा हाजिरी जमानीमा छुटेका थिए । दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका थिए । पहिलो पटक मुद्दै चलाइएन, दोस्रो पटक ५ चैत २०८० मा उनी कपिलवस्तुबाट पक्राउ पक्राउ परेका थिए ।
पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएकामा अनुसन्धानमै रहँदा त्यसको ५ दिनपछि ९ चैतमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो ।
