काठमाडौं, असोज २३
नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको मागबाट पछि हट्दै अब नियमित महाधिवेशनको पक्षमा उभिएका छन्। पछिल्लो राजनीतिक कसरतमा विशेष महाधिवेशनको सम्भावना कमजोर देखिएपछि उनले आफ्नै अघिल्लो लाइन परिवर्तन गरेका हुन्।
गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको सहमतिमा युवामार्फत विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइरहेको बेला थापाले बिहीबार पार्टीको पदाधिकारी बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गरौं भन्ने प्रस्ताव राखेका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. शशांक कोइरालाले थापाले सो प्रस्ताव बैठकमा एजेन्डाका रूपमा राखेको जानकारी दिएका छन्। उनले भने, “उहाँले नियमित महाधिवेशनको प्रस्ताव दिनुभएको छ, छलफल भइरहेको छ।”
विशेष महाधिवेशन किन पछि पर्दै
महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको अभियान चलाइरहेका बेला विधानले तोकेको झन्झटिलो प्रक्रिया — जसमध्ये ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर‘विशेष कारण’ उल्लेख गर्नुपर्ने प्रावधान — प्रमुख बाधक बन्न पुगेको देखिन्छ।
गगनले पार्टीका वरिष्ठ नेता डा. कोइरालासँगको भेटमा खुलस्त भनेका थिए,
“विशेष महाधिवेशन त गर्नै गाह्रो छ, अब नियमित महाधिवेशनको दबाब दिनुपर्छ।”
शेखरलाई उनले नेतृत्व गर्न आग्रह गरे पनि कोइरालाले आफ्नो पुरानै अडान दोहोर्याएका थिए — मंसिरभित्र नियमित महाधिवेशन नै हुनुपर्छ, तर त्यो पनि पार्टी विधानअनुसार र केन्द्रीय समितिबाट निर्णय गरी।
अभियान फेल भएपछि रणनीति फेरियो
गगन र विश्वप्रकाशको मूल योजना असोज २६ गते बस्ने केन्द्रीय समिति बैठक अगावै ४० प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराउने थियो। तर समर्थन पर्याप्त नहुने प्रस्ट भएपछि थापा पछि हट्न बाध्य भए।
शर्माले मंगलबार फेसबुक भिडियोमार्फत भनेका थिए, “हस्ताक्षर गर्न चाहने हो भने २४ गतेभित्र गर्नुस्, लगनपछिको पोतेको काम नहोस्।”
तर नेतृत्व तहमा रहेका धेरै नेताहरूले विशेष महाधिवेशनलाई समर्थन नजनाएपछि त्यो अभियान प्रभावहीन बन्यो।
गगनको प्रस्ताव देउवा बाहिर, पार्टीभित्र महाधिवेशन
गगन थापाले प्रस्तुत गरेको नियमित महाधिवेशनको प्रस्तावमा एक महत्वपूर्ण बुँदा छ , सभापति शेरबहादुर देउवालाई निर्णय प्रक्रियाबाट बाहिर राखेर महाधिवेशन अगाडि बढाउने।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार,“गगनजीको प्रस्ताव कार्यसमिति बैठक नबोलाई, कार्यवाहक तोकेर महाधिवेशनमा जानेसम्मको हो।”
अब के हुन्छ ?
असोज २६ गतेको केन्द्रीय समिति बैठकमै नियमित महाधिवेशनको मिति टुंग्याउने प्रयास हुनेछ।
विशेष महाधिवेशनको पृष्ठभूमिमा जुटाइएका हस्ताक्षरले अब कति अर्थ राख्छन् भन्ने विषय समाप्तजस्तै भएको छ।
कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस भने तीव्र हुँदै जाने देखिन्छ।
