काठमाडौं, असोज २३ गते
देशको आन्तरिक सुरक्षाबारे गम्भीर चासो देखिँदै गर्दा बिहीबार बिहान सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा तीनवटै सुरक्षा निकायका प्रम’खहरू र नेपाली सेनाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
बैठकको प्रमुख एजेन्डा हालको राजनीतिक गतिविधि र त्यसले सिर्जना गर्न सक्ने सुरक्षा चुनौतीहरू थिए। माइतीघर मण्डलामा आजैका लागि विभिन्न ‘जेनेरिक’ समूहले आह्वान गरेको प्रदर्शन र दुर्गाप्रसाईं नेतृत्वको अर्को सम्भावित आन्दोलन बैठकको केन्द्रमा रहेको एक सहभागी सुरक्षा अधिकारीले जानकारी दिए।
“प्रसाईं समूहको छठपछिको आन्दोलनलाई लिएर विश्लेषण भयो,” ती अधिकारीले भने, “त्यसबाट उत्पन्न हुन सक्ने जोखिमहरूको पनि समिक्षा गरिएको छ।”
बैठकमा समग्र शान्ति सुरक्षाको अवस्था, अबका दिनमा सम्भावित चुनौतीहरू, र सुरक्षाकर्मीको परिचालन रणनीतिबारे व्यापक छलफल भएको बताइएको छ। सुरक्षा संयन्त्रबीच समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बैठकमा जोड दिइएको थियो।
