काठमाडौं, असोज २३
इजरायल–हमास युद्धमा वेपत्ता बनाइएका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । केही दिनदेखि उनको रिहाइ नजिकिए देखिएको भनिएपनि उनको स्थिति अझै अज्ञात रहेको हो । अमेरिकाको पहलमा भएको इजरायल–हमासबिचको पहिलो चरणको युद्धविराम सम्झौताले जोशीसहित बाँकी बन्धकको मुक्तिको बाटो खोलेको भएपनि छुट्ने सूचीमा उनको नाम देखिएको छैन ।
उनी जीवित भएको आशासहित एक भिडियो समेत जारी भएको थियो। तर सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति ’अज्ञात’ रहेको भनिएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी हालसम्म बाँचिरहेको विश्वास गरिए पनि, ४८ बन्धकमध्ये २६ को मृत्यु पुष्टि भइसकेको र विपिनको अवस्था स्पष्ट नभएको समाचारमा जनाइएको छ।
जल तथा कृषि अध्ययनका लागि इजरायलमा रहेका २४ वर्षीय विपिन जोशी हाल हमासको बन्दीगृहमा रहेका छन्। गत सेप्टेम्बर २१ मा हमासले उनको ’अलबिदा फोटो’ सार्वजनिक गरेको थियो, जसले उनी जीवित रहेको संकेत दिएको थियो। साथै इजरायली सेनाले २०२३ मा खिचिएको भिडियो फेला पारेको छ, जसमा विपिन बन्दी अवस्थामा देखिएका छन्।
तर यो भिडियो एक वर्ष पुरानो भएकोले हालको स्थिति स्पष्ट छैन। सीएनएनले विपिन र वर्षीय इजरायली नागरिक तामिर निम्रोदीको स्थिति ’अज्ञात’ भएको भन्दै इजरायली अधिकारीहरूले उनीहरूको जीवनप्रति ’गम्भीर चिन्ता’ व्यक्त गरेको बताएको छ।
जीवित २० जना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको ’ऐतिहासिक अवसर’ को रूपमा प्रस्तुत गरेको यो सम्झौता अनुसार पहिलो चरणमा सोमबार जीवित २० बन्धक इजरायली रिहा हुनेछन्। यद्यपि विपिन जोशीसहित अन्य बन्धकको रिहाइमा ढिलाइ हुन सक्ने अनुमान छ। किनभने प्राथमिकता इजरायली नागरिकलाई दिइएको छ। यसअघि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलसम्म पुगेर विपिन रिहाइको अभियान चलाएका थिए।
