काठमाडौ, असोज २३
अन्तरिक सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूसंग छलफलमा बस्न नमानेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संयोजन गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दोश्रो तहका नेताहरुसंग समन्वय गरेर छलफल गर्नेभएका छन् ।
शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलका दोश्रो तहका नेताहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ । छलफल शीतलनिवासमै हुनेछ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्। चुनाव फागुन २१ गते तय छ। बिहीबार नै अन्तरिम सरकारकी प्रधामन्त्री प्रधानमन्त्री कार्की अर्थमन्त्री रामेश्वर खनाल र संचारमन्त्री जगदिश खरेल राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।
भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राख्दै सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने बताएका थिए ।
अन्तरिम प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेकी थिइन् । सोही अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बस्नेगरी सरकार र विघटित प्रतिनिधि सभामा रहेका सबै दलहरूलाई छलफलमा बोलाएको स्रोतले जनाएको छ ।
तर अन्तरिम प्रधानमन्त्री कार्कीले अहिले नै शीर्ष नेताहरूसंग छलफलमा बस्दा असहज हुने भन्दै दोश्रो तहका नेताहरूबाट छलफल थालिदिन आग्रह गरेकी थिइन् ।
