बैतडी, असोज २४ गते
बैतडी जिल्लाका स्थानीय तहहरूले कानुनविपरीत अस्थायी दरबन्दी सिर्जना गरी करारका कर्मचारी नियुक्त गर्दै वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेका छन्। जिल्ला भरिका १० वटा स्थानीय तहहरूले हालसम्म ७६० भन्दा बढी कर्मचारी करारमा नियुक्त गरेका छन्, जसबाट वार्षिक झण्डै १७ करोड रुपैयाँ खर्च हुने गरेको पाइएको छ।
२०७३ सालसम्म बैतडीमा ५८ वटा गाविस रहेकामा त्यतिबेला जम्मा ४० जना सचिवले सेवा दिइरहेका थिए। तर, स्थानीय तहको पुनर्संरचना पछि अहिले वडा र पालिकामा करिब आठ सय कर्मचारी करारमा भर्ना गरिएको छ।
कानुनले के भन्छ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरप्रहरी, चालक, कार्यालय सहयोगी, माली, बगैंचे, इलेक्ट्रीसियनजस्ता पदमा मात्र करार नियुक्ति गर्न पाइन्छ। तर बैतडीका स्थानीय तहहरूले स्वकीय सचिव, सल्लाहकार, अन्य प्रशासनिक पदहरूमा समेत कर्मचारी नियुक्त गरेका छन्।
महालेखा परीक्षकको कार्यालयले पटक–पटक यस्तो अभ्यासलाई नियमविपरीत भन्दै टिप्पणी गर्दै आएको छ। ऐनको दफा ८३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिको काममा करार पद सिर्जना गर्न नपाउने व्यवस्था स्पष्ट भए पनि स्थानीय तहहरूले उक्त नियमको उल्लंघन गर्दै आएका छन्।
कसले कति कर्मचारी राखे?
डिलासैनी गाउँपालिका — १२० जना
दशरथचन्द नगरपालिका — ९९ जना
दोगडाकेदार गाउँपालिका — १७ पदमा ११८ जना, थप ५७ जना
मेलौली नगरपालिका — १६ पदमा ३७ जना, अन्य १२ पदमा २० जना
पञ्चेश्वर गाउँपालिका — ६८ जना
पाटन नगरपालिका — १०८ जना
पुर्चौंडी नगरपालिका — ५० जना
सिगास गाउँपालिका — २६ जना
सुर्नया गाउँपालिका — ५६ जना
कुल मिलाएर यी सबै पालिकामा कर्मचारी भर्ना गर्दा वार्षिक १६ करोड ८७ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
राजनीतिक भागबन्डा र नातावादको आरोप
करारमा नियुक्त गरिएका अधिकांश कर्मचारीहरू जनप्रतिनिधिका आफन्त वा दल निकटका कार्यकर्ता भएको आरोप लाग्दै आएको छ। यसले सेवा प्रवाहभन्दा बढी राजनीतिक भागबन्डा हुने वातावरण सिर्जना भएको देखिन्छ।
सेवामा सुधार छैन
स्थानीय अगुवा गणेश ठकुराठी भन्छन्, “गाविस भएसम्म ९ वटासम्म वडालाई एउटै कार्यालयले सेवा दिन्थ्यो, अहिले त एउटा डटपेन किन्न पनि पालिकाको ढोका ढक्ढकाउनुपर्छ।” उनका अनुसार, सेवाको पहुँच र गुणस्तरमा खासै सुधार देखिएको छैन।
बेरुजु बढ्दै
नियमविपरीत खर्च, कर्मचारी भर्ना र अनियमितताको कारण बैतडी जिल्लाका स्थानीय तहमा हालसम्मको बेरुजु रकम अढाइ अर्ब रुपैयाँ नाघेको छ।
