धनगढी, असोज २३
कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफ्नो निजी घरमा सरकारी खर्चमा एसीसहितका विद्युतिय उपकरण जडान गराएको तथ्य बाहिर आएको छ। सुदूरपश्चिम प्रदेशको ऐन विपरीत अध्यक्ष चौधरीले गाउँपालिका–४, भितरिया स्थित आफ्नो पक्की घरमा पालिकाको बजेटबाट तीनवटा एसी राखेका थिए।
सम्बन्धित ऐन, २०७६ अनुसार स्थानीय तहका पदाधिकारीहरूले कार्यालय प्रयोजनबाहेक व्यक्तिगत निवासमा सरकारी उपकरण राख्न नपाउने व्यवस्था छ। तर अध्यक्ष चौधरीको घरमा ग्री ब्रान्डका दुईवटा १ टनका र एउटा १.५ टनको एसी राखिएको पाइएको हो।
यी एसीहरू हालैको जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि नष्ट भएका छन्। आगलागीपछि गाउँपालिकाले तयार पारेको सम्पत्ति क्षति विवरणमा उक्त सामग्रीहरू उल्लेख भएपछि मात्र यो विषय सार्वजनिक भएको हो।
के-के राखियो?
पालिकाको खर्चमा अध्यक्षको घरमा:
३ वटा एसी
२ वटा २०० एएचका ब्याट्री
४ वटा सिलिङ फ्यान
१ थान ३२० भोल्टको इनभर्टर
लगाइएको पुष्टि भएको छ। यी सबै सामग्री आगजनीमा जलेर नष्ट भएका छन्।
ऐनमा के छ भने?
सुदूरपश्चिम प्रदेश सरकारद्वारा जारी “स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६” मा निजी निवासमा यस्ता उपकरण सरकारी खर्चमा जडान गर्न नपाइने स्पष्ट व्यवस्था छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी भन्छन्, “ऐनमा स्पष्ट रूपमा निजी घरमा यस्ता सामग्री राख्न मिल्दैन। तर एसी उपभोग गर्न पाउने कि नपाउने भन्ने प्रष्ट नहुँदा विवादित विषय बनेको छ।”
चौधरीको तर्क
अध्यक्ष चौधरीले भने आफूले अन्य पालिका प्रमुखले जस्तै सुविधा लिएको दाबी गर्नुभएको छ।
उहाँको भनाइ छ, “सामानहरू पछि फिर्ता गर्ने सर्तमा मैले प्रयोग गरेको थिएँ, तर दुर्भाग्यवश घरसँगै सबै जले। अन्य पालिका प्रमुखहरूले पनि यस्तो गरेका छन्।”
आन्दोलनले झन् समस्या थप्यो
भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले कैलारी गाउँपालिका कार्यालय र सबै नौ वटा वडा कार्यालयमा आगजनी गर्दा कागजातदेखि भौतिक संरचना नष्ट भएका छन्। अहिले सबै वडाले हसुलियास्थित साझा भवनको एउटै कोठाबाट सेवा प्रवाह गरिरहेका छन्।
यसैबीच, उपाध्यक्ष भगवतीकुमारी चौधरीको सरकारी स्कुटर र निवास पनि आगजनीमा परेको थियो।
