काठमाडौं, असोज २४
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा फेरबदल भएपछि माओवादी नेतृत्व आक्रोशित देखिएको छ। सरकारले स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि प्रचण्ड अहिले पूर्व जनमुक्ति सेना (PLA) र योङ्ग कम्युनिस्ट लिग (YCL) को सुरक्षा घेरामा छन्।
गृह मन्त्रालयले हालै मापदण्ड उल्लंघन गर्दै प्रयोग गरिएका सुरक्षा स्रोतलाई फिर्ता गर्ने निर्णय लिएको थियो। पूर्वपदाधिकारीहरूका लागि लागू गरिएको यो निर्णय सरकारी सुरक्षामा आश्रित नेताहरूको संख्या घटाउने नीति अन्तर्गत आएको हो।
यही निर्णयपछि माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, “प्रचण्ड लगायत नेताहरूको सुरक्षा अब वाईसीएल र पूर्व पीएलएको जिम्मामा छ। बदलाभावले गरिएका कदमको परिणाम केपी ओलीको शासनजस्तै हुने खतरा छ।”
३४ सुरक्षाकर्मी फिर्ता, सुरक्षा अब ‘घेराबन्दी’ शैलीमा
खबरअनुसार प्रचण्डका लागि तोकिएको संख्याभन्दा धेरै – ३४ जना सुरक्षाकर्मी हाल फिर्ता गरिँदैछन्। प्रचण्डको पूर्वप्रधानमन्त्रीको हैसियतले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी अधिकृत राख्न पाउने प्रावधान छ।
तर जेनजी विद्रोहपछिका अस्थिर परिस्थितिहरू र सम्भावित खतरा मध्यनजर गर्दै राज्यले विशेष सुरक्षा दिँदै आएको थियो। अब ती सुरक्षाकर्मी हटाइएपछि माओवादीले स्वतन्त्र सुरक्षा प्रबन्ध थालिएको छ, जुन राज्यबाहिरको संरचनाजस्तो देखिन्छ।
पूर्व लडाकुहरू फेरि ‘गार्ड’ मा
दीपशिखाका अनुसार, भदौ २४ गते मात्र प्रचण्डले राज्यको सुरक्षा स्वीकार गरेका थिए, त्यसपछि सुरक्षा व्यवस्था पूर्व पीएलए र वाईसीएल ले नै सम्हाल्दै आएका छन्।
प्रचण्ड अहिले ललितपुरको सातदोबाटो, खुमलटार क्षेत्रमै बसोबास गरिरहेका छन्। खुमलटारस्थित पुरानो निवास जलेर खरानी भएपछि उनी अस्थायी रूपमा अन्यत्र सरेका हुन्।
सुरक्षा व्यवस्थाको नयाँ मोडेल
वाईसीएल अध्यक्ष पुष्प ओली का अनुसार, प्रचण्डलाई हाल दुई तहको सुरक्षा दिइएको छ:
भित्री घेरा – पूर्व जनमुक्ति सेनाले सम्हालेको, व्यवस्थापन दीपशिखाले।
बाहिरी घेरा – वाईसीएलको जिम्मामा, व्यवस्थापन पुष्प ओलीको नेतृत्वमा।
कार्यक्रममा जानुअघि सुरक्षा अनुगमन टोली पठाउने, बाह्य जिल्लामा स्थानीय वाईसीएल संयन्त्रबाट सुरक्षा व्यवस्था गर्ने प्रचलन अपनाइएको उनले बताए।
