काठमाडौं, असोज २८
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा हत्याएको छ । साथै सिन्धुपाल्चोकका बनिरहेका थप १० आयोजनासँग पनि सित्तैमा शेयर माग्दै बार्गेनिङ गरिएको छ ।
‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’को नाममा स्थानीयको समूहले जेनजी आन्दोलदनको नाममा भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा लिएका हुन् ।

सेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएका उनीहरु र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।

यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क मागेको थियो ।
कम्पनीले १० प्रतिशत शेयर दिन तयार भएको तर निःशुल्क भने दिन नसकिने बताएको थियो । त्यसैले एक महिनासम्म आयोजना बन्द थियो ।

तर आइतबार ‘भोटेकोशी जेनजी ग्रुप’ र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत निःशुल्क सेयर लेनदेन सम्झौता भएको छ । सेयर लेनदेनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ ।

