काठमाडौं असोज २८ गते
जेनजी युवाको आन्दोलनको क्रममा कुटपिट र आगजनीबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिने भएका छन्।
देउवा आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै पार्टी केन्द्रीय कार्यालय, सानेपामा देखा पर्नेछन्। जेनजी आन्दोलनले पार्टी र नेताहरूमा गहिरो असर पारेको बेलामा देउवाको उपस्थितिलाई राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।
केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ। बैठकले कांग्रेसको आगामी रणनीति र संगठनात्मक तयारीको समीक्षा गर्नेछ।
देउवा दम्पतीमाथि आक्रमण र त्यसपछिको विश्राम
गत महिना जेनजी युवाको विरोध कार्यक्रमका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण भएको थियो। देउवा दम्पत्तिमाथि कुटपिट हुनुका साथै घरमा आगजनीसमेत भएको थियो। त्यसयता उनी उपचारपछि आफन्तको निवासमै आराम गरिरहेका थिए।
देउवाका निकट नेताहरूका अनुसार, उनले आजको बैठकमार्फत औपचारिक रूपमा सक्रिय राजनीति फर्किने तयारी गरेका छन्।
साझा एजेण्डामा सहमति छैन
बैठकअघि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने कार्यक्रम छ। सो बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने साझा एजेण्डा तय गर्ने अपेक्षा गरिएको छ।
तर १५ औं महाधिवेशन मंसिरमै गरिनुपर्ने अडान राख्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षबीच सहमति नजुट्दा एजेण्डा अझै तय भइसकेको छैन।
