काठमाडौं, असोज २८
सिंहदरवास्थित नयाँ ससद भवनमा नयाँ संसद चल्ने भएको छ । सिंहदरवारको नयाँ भवनमा नयाँ संसद चल्ने भएपछि संघीय संसद् सचिवालयले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक बस्ने गरी गरेको करार सम्झौता सधैका लागि रद्द गर्न लागेको छ ।
२०६४ को पहिलो संविधानसभादेखि हालसम्म बैठक बस्नका लागि प्रत्येक वर्ष सम्झौता करार सम्झौता गर्दै आएको थियो । अहिले वार्षिक १५ करोड भाडा संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई बुझाउँदै आएको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भवन सम्पूर्ण रूपमा जलेर नष्ट भएपछि सो दिनदेखि लागू हुने गरी एक पक्षीय रूपमा सम्झौता रद्द गर्न लागिएको हो । असार मसान्तसम्म सम्झौता गरिएको थियो ।
तर त्यसपछि सम्झौता थप भएको थिएन । थप गर्ने प्रक्रिया हुँदै थियो, भवन सबै जलेर काम नलाग्ने भयो, अब कानुन बमोजिम नै २४ गतेदेखि लागू हुने गरी सम्झौता रद्द गर्न लागेका छौँ, संसद् सचिवालयका एक अधिकारीले भने । उनले साउन र भदौ २४ सम्मको भाडा संसद् सचिवालयले बुझाउने र त्यसपछि संसद् भवनका लागि अब प्रयोग नगर्ने गरी अघि बढेको उनले बताए ।
अहिले प्रतिनिधिसभा विघटन भएको छ, राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ ।
तत्काल संसद् भवनको आवश्यक नपरे पनि अब राष्ट्रियसभाको अधिवेशन बोलाएमा भने संसद् बैठक बस्ने हलको आवश्यकता पर्दछ । सिंहदरबार भित्र बन्दै गरेको संसद् भवन पुस भित्र सम्पन्न गर्न अन्तरिम सरकारले दवाव दिइरहेको छ ।
त्यसबिचमा राष्ट्रियसभा बैठक बस्न लागेमा पुरानो राष्ट्रियसभा बैठक बसेको हल हाल विघटित प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने गरेको थियो त्यो हलको प्रयोग गर्ने सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने भएमा यो हल प्रयोग हुनेछ । पुस पछि नयाँ संसद् भवनमा राष्ट्रिय सभा बैठक गर्ने गरी गृहकार्य भइरहेको छ ।
संसद् भवनका लागि प्रयोग नहुँदा यसमा राष्ट्रिय स्तरका नीति–निर्माण बैठकहरू, मन्त्रालयगत गोष्ठी, र अन्तर्राष्ट्रिय सम्मेलनहरू यहीँ आयोजना हुने गरेका थिए । केही ठुला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, र शैक्षिक सेमिनारहरूm लघु महोत्सव पनि यस भवनमै सम्पन्न हुने गरेका थिए । विगतमा कहिलेकाहीँ ठुलो संकट वा राजनीतिक घटनाक्रममा, यो भवनलाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गरिएको छ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको यो भवनलाई नेपाल–चीन मैत्रीको एक महत्त्वपूर्ण प्रतीक मानिन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम पहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसिसि) को रूपमा चिनिन्थ्यो, नेपालको एक प्रमुख सम्मेलन स्थल थियो ।
चीनद्वारा निःशुल्क निर्मित, विआइसिसिको औपचारिक रूपमा सन् १९९३ मा अर्थात् विसं.२०५० सालमा उद्घाटन गरिएको थियो। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आधुनिक शैलीको भव्य भवन हो। यसमा ठुलो प्रधान सभा हल छ, जसको क्षमता करिब १,०४६ सिटहरूको छ । भवनको कुल बन्द क्षेत्रफल १२ हजार ५७३ वर्ग मिटर रहेको छ । यहाँ विभिन्न बैठक कोठा, कक्षाहरू, कार्यालय कक्ष, अतिथि स्वागत हल, र प्रेस कक्षको व्यवस्था छ ।
यस परिसरमा ४०० भन्दा बढी सवारी साधन अटाउने पार्किङ सुविधा छ। भवनलाई उच्च स्तरको ध्वनि प्रणाली, प्रकाश व्यवस्थापन, तथा अनुवाद प्रविधिले सुसज्जित गरिएको छ ।
२०७२ सालको भूकम्प पछि यो भवनलाई पुन निर्माण गर्नुपर्ने अवस्था थियो । चिनिया एक टोलीले अध्ययन गरेर पनि गएको थियो । संसद्को नयाँ भवन बनेपछि मात्र यसको पुननिर्माण गर्ने तयारी थियो ।
