काठमाडौं, असोज २९
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज ओमानसँग निर्णायक खेल खेल्दैछ।खेल अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा बेलुकी ८ः४५ बजेबाट सुरु हुनेछ।
सुपर सिक्समा दुवै टोली हालसम्म अपराजित छन् र दुवै विश्वकप प्रवेशद्वारमा उभिएका छन्। आजको खेलको विजेता टोली प्रत्यक्ष रूपमा विश्वकपमा छनोट हुनेछ, त्यसैले यो खेल नेपालका लागि ऐतिहासिक बन्ने सम्भावना छ।
नेपालले यसअघि सुपर सिक्समा आइतबार युएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो। त्यस्तै, ओमानले पनि कतार र युएई दुबैलाई हराउँदै उत्कृष्ट प्रदर्शन गरेको छ।
नेपाल र ओमानबीच यसअघि वार्मअप खेलमा पनि भेट भएको थियो, जसमा नेपालले ६ विकेटको जित हात पारेको थियो।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच हालसम्म ८ पटक भिडन्त भइसकेको छ जसमा नेपालले ५ खेलमा जित, भने ओमानले ३ खेल (एक सुपर ओभरसहित) जितेको छ।
आजको खेलपछि नेपालले शुक्रबार सामोआसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ।
