काठमाडौं, असोज ३०
नेपाल प्रहरीले आफ्नो स्थापना दिवस मनाइरहँदा भावी आइजीपीको चर्चा शुरु भैइसकेको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार बनेकाले नेपाल प्रहरीको भावी आइजीपी को हो भन्ने अन्यौल रहेकाले यसको चर्चा चुलिएको हो ।
नेपाल प्रहरीमा आउदो कात्तिक २६ गते रातीबाट चन्द्रकुवेर खापुङले अनिवार्य अवकाश पाएपछि प्रहरी संगठनको ३३ औं आइजीपी को हो भन्ने अन्यौल देखिएको छ । खासगरी नक्कली भूटानी शरणार्थीको विषय उचालेर एआइजी मनोज केसीलाई अघि बढाउन खोजेपछि अन्यौल भएको हो । उनले सिआइबीमा बसेर ९ किलो सुन प्रकरणमा कृष्णबहादुर महरालाई पक्राउ गरी अदालत बुझाएका थिए । अदालतले महरालाई पूपक्र्षका लागि थुनामा पठाएको छ ।
यद्यपि प्रहरीमा आइजीपी खापुङको अवकाशपछि रोलक्रममा रहेका एआइजीहरु दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले मध्ये एआइजी कार्की पहिलो नम्बरमा भएका कारण अर्को विकल्पमा सरकार नजाने बताइएको छ ।
प्रहरीमा चेन अफ कमाण्ड तोड्न हुन्न भन्ने मान्यता रहेका गृहमन्त्री र प्रधानमन्त्रीले यो विषयमा तीन एआइजीलाई बोलाएर कुराकानी गरिसकेका छन् । ‘प्रधामन्त्री शुसीला कार्कीसँग प्रतिस्पर्धी तीन एआइजीसँग कुराकानी भैसकेको छ,’स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीको रोजाई पहिलो र दोस्रो नै रहेको बुझिएको छ । ‘पहिलो र दोस्रो भन्दा अर्को विकल्प दिने अवस्था देखिदैन,’ गृहमन्त्री निकट स्रोतले भन्यो । अहिले सिद्धि विक्रम शाह पनि अर्का प्रतिस्पर्धी हुन । यद्यपि उनी जेनजी आन्दोलनको बेला अप्रेशन कमाण्डर र कांग्रेस भएको आरोपमा पन्छाइएको छ ।
आइजीपी नियुक्ति अगाडी हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँच डीआईजी दर्जा त रिक्त हुँदैछ । प्रतिस्पर्धी संख्या झण्डै तेब्बर रहेको छ । आइजीपीसँगै आउने डिआइजी बढुवा पनि निकै कसिलो हुने देखिएको छ ।
यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान भएपाि कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई बढुवामा पर्ने संभावना निकै कम रहेको छ । अहिलेको सकारले कार्यसम्पादन मूल्यांकन पनि हेर्ने जनाएको छ ।
हाल एससपी दर्जामा कार्यरत ११२ औँ टोलीका १५ र उनीहरूभन्दा अघिल्लो बढुवामा एसएसपी भएका एक गरी १६ प्रतिस्पर्धी छन् । ११२ टोली भनेको नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५६ असार ३ गते नियुक्त अधिकृत हुन् । उनीहरू २०८० वैशाख २४ मा एसएसपी बढुवा भएका थिए ।
त्यसमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् । प्रहरीमा विश्व अधिकारी निकै असफल अधिकृत हुन् । २०८१ चैत १५ मा राजावादीको आन्दोलनमा समेत बल प्रयोग गार्द उनको आलोचना भएको थियो ।
उनी तत्कालिन गृहमन्त्री रमेश लेखकको पिएकै हाराहारीमा भएका कारण काठमाडौं त्यतिबेला काठमाडौं परिसरबाट हटाउन नसकिएको एक अधिकारीको दावी छ । जेनजी आन्दोलनमा बल प्रयोग पनि उनकै कमाण्डमा भएको थियो । कृष्णबहादुर पल्ली मगरलाई विभिन्न समूहले च्याप्दै आएका कारण उनको कार्यसम्पादन मुल्यांकन कमजोर रहेको छ । थापा र पन्त भने दुवै उत्कृष्ट महिला प्रहरी अधिकृतभित्र पर्छन ।
यसैगरी २०७९ असार २५ मा ३२ एसपीले एसएसपीमा बढुवा पाउँदा ३२ औँ नम्बरमा परेका शारदा चौधरी हालसम्म सोही दर्जामा छन् । चौधरीको हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको बढुवा टोलीका सबैजसो एआईजी र डीआईजी हुँदा उनीचाहिँ एसएसपीमै भएका कारण उनको बढुवालाई नकार्न सकिदैन ।
कात्तिक १३ गते ३० वर्षे अवधि पूरा गरेर डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन् । उनको स्थानमा पनि एक डिआइजी बढुवा हुनेछन् । डिआइजी बढुवा चाडै भएमा भावी आइजीपीको कित्ता पनि करिब करिब क्लियर नै हुनेछ । यो बढुवालाई कात्तिक २६ मा हुने आइजीपीको बढुवासँग गाँसेर हेर्न थालिएको छ ।
प्रहरी संगठनको मनोबल खस्किएका बेला २६ गते हुने बढुवालाई बाहिर पनि चासोका साथ हेरिएको छ । संगठनको मनोबल उकास्ने र कानुन कार्यान्वयन गर्न सक्ने प्रहरी नेतृत्वको बारेमा अहिले बहस सिर्जना भएको छ ।
