बाजुरा, कात्तिक १ गते
बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाउने भएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाले पालिका तथा वडाहरूमा कार्यरत अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णय गरेको हो ।
बिहीबार बसेको ४९ औँ कार्यपालिका तथा यस आर्थिक वर्षको तेस्रो बैठकले नगरपालिकामा कार्यरत झन्डै ८० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का अध्यक्ष हेमराज जैशीले बिहीबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको बताए ।
उनका अनुसार, पालिकाले सङ्घीय सरकार र प्रदेश सरकारको पत्रअनुरूप पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेनजी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिकामा हाल ८० जना कर्मचारीलाई विकासीय बजेटबाट तलब प्रदान गरिँदै आएको थियो । पालिकाका १० वटै वडाका गरी ती कर्मचारीहरूलाई हटाउने निर्णय गरेपछि कामकाजमा केहि समस्या हुने आङ्कलन गरिएको छ । यद्यपि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
सो नगरपालिकामा एमालेका रामबहादुर बाँनिया मेयर, माया कुँवर उपमेयर छन् भने कार्यपालिकामा पनि एमालेको प्रचण्ड बहुमत रहेको छ ।
