काठमाडौं,कात्तिक २
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीनमा तानेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् ।
भ्रष्टाचारको दोषारोपण गर्ने, मनोबल गिराउने र योग्यतामाथि प्रश्न उठाउन थालेपछि राजीनामा दिएको लामिछानेको दाबी छ । फागुनमा ४ वर्ष पुगेर घर जान लागेका उपकुलपति लामिछानेले ४ महिना अघि नै जागिर छाडेका छन्। प्रधानमन्त्री कार्यालयमा राजीनामा दर्ता गराएर हिँडेका लामिछानेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको स्रोतले जनाएको छ ।
प्रतिष्ठानको नियमावली अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र विषयमा कम्तीमा स्नाकोत्तर(एमडी, एमएस, पिएचडी) उपाधि प्राप्त गरी प्राध्यापक पदमा नियुक्त भइ कम्तीमा ५ वर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपति नियुक्त हुनेछ भन्ने व्यवस्था रहेको छ। तर, लामिछानेले एमडी, एमएस, पिएचडी उपाधि हासिल नभइ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएस गरेका हुन्। उनले अमेरिकाको जोन्स हकिङ विश्वविद्यालयबाट ११ महिने एमपीएच तालिम मात्र लिएको कागजात पेस गरेर उपकुलपति जागिर खाएको विषय अहिले अख्तियारमा पुगेको छ। ११ महिने एमपिएच तालिम लिएपछि कम्तीमा ३ वर्ष अध्ययन गरेर मात्र पिएचडी उपाधि पाउने मान्यता रहेको छ। तर, लामिछानेको हकमा त्यस्तो नरहेको अख्तियार स्रोतले बतायो। योग्यताका विषयमा अख्तियारले छानबिन थालेपछि लामिछानेले उपकुलपतिबाट राजीनामा दिएको चर्चा चल्न थालेको हो।
लामिछानेले एमडी÷एमएस चिकित्सक सरह मासिक डेढ लाख रुपैयाँ नन–प्राक्टिसिङ भत्ता खाएको विषयमा पनि अख्तियारको छानबिनमा परेको छ। योग्यता र भत्ताको विषयमा अख्तियार लाग्ने भएपछि लामिछानेले उपकुलपतिबाट राजीनामा दिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।
शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा आरजु राणा देउवाको जोडबलमा लामिछाने राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए। तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिका सदस्य भगवान कोइरालाले त्यहिँ बेला लामिछानेको योग्यतामाथि प्रश्न उठाउँदै हस्ताक्षर गर्न मानेका थिएनन्।
