काठमाडौँ , कात्तिक ९
‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईले नेपाललाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत योजनाबद्ध रूपमा कमजोर बनाइएको आरोप लगाएका छन्। आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई ‘देशलाई लुटतन्त्रबाट जोगाउने प्रयास’ भएको दाबी गरे।
प्रसाईले आफू ‘पढेलेखेको होइन, भोगेको र बुझेको व्यक्ति’ भएको भन्दै एक रुपैयाँबाट आफ्नो व्यवसायिक साम्राज्य निर्माण गरेको बताए। ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गरेको भनेर आरोप लगाइयो, तर म प्रमाणसहित भन्छु , म नेपालका सफल व्यवसायीमध्ये एक हुँ,’ उनले भने, “तर आफूलाई व्यापारी वा ठेकेदार भन्दिनँ।’
उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफ्नो नाम नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण सार्वजनिक गरे। साथै, आफ्नो लगानीमा सञ्चालन भएको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको रूपमा कोशी प्रदेशबाट सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा प्राप्त भएको उल्लेख गरे।
प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति मात्र रहेको स्पष्ट पारे। ‘देशमा ४१ हजार मारवाडी परिवार छन्, तर मेरो विरोध ती सबैप्रति होइन,’ उनले भने, ‘बर्माबाट लखेटिएका १६ परिवार अहिले नेपालमा पनि त्यही खेल दोहोर्याइरहेका छन्।’
उनले बैंक र वित्तीय संस्थाले तोकिएको भन्दा बढी ब्याज असुल्ने गरेको आरोप लगाए। ‘बैंकहरूले ७ प्रतिशत भनेर सम्झौता गर्छन्, तर व्यवहारमा १६–१७ प्रतिशत असुल्छन्,’ उनले भने, ‘यसले डाक्टर, पत्रकार, साना व्यवसायी र आम नागरिक सबैलाई ऋणको पासोमा पारेको छ।’ आफ्नो आन्दोलनकै प्रभावमा ब्याजदर घटेर ६ प्रतिशतमा झरेको र त्यसबाट सम्पूर्ण नेपाली लाभान्वित भएको उनको दाबी थियो।
प्रसाईले देशमा राजसंस्था र हिन्दू राष्ट्र हटाउनु नै विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ भएको आरोप लगाए। ‘किन गिरिजाप्रसादले बारम्बार ‘ग्रान्ड डिजाइन’ भनेका थिए? अहिले त्यो खेल खुल्दै गएको छ,’उनले दाबी गरे। सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी हुनु वर्तमान व्यवस्थाको विफलताको सङ्केत भएको उनको टिप्पणी थियो।
उनले केही व्यापारीहरूका अनैतिक कार्य र राज्यको मौनतामाथि पनि असन्तोष व्यक्त गरे। ‘केही व्यापारीहरू बिजुली बालेर पनि पैसा नतिर्ने, तर हामीजस्ता नियमित कर तिर्ने व्यवसायीलाई राज्यले हेप्छ,’ उनले गुनासो गरे।
हालैको ‘जेन–जी आन्दोलन’मा आफू सहभागी हुन खोज्दा रोकिनुपरेको बताउँदै प्रसाईले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति आभार व्यक्त गरे। ‘उहाँले मलाई बचाउनुभयो, नत्र म अहिले जेलमै हुन्थें,’ उनले भने। तर सिंहदरबारमा आगलागी हुँदा महानगरका नगर प्रहरी र दमकलले तत्काल सहयोग नगरेको भन्दै उनले बालेनप्रतिको आलोचनासमेत गरे।
प्रसाईले आफ्नो अभियानलाई निरन्तरता दिने र ‘देशलाई विदेशी प्रभाव र आर्थिक अन्यायबाट मुक्त पार्ने लडाइँ’ जारी रहने बताए।
