बैतडी, कात्तिक १४
महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) आयोजना तीन महिनादेखि प्रमुखविहीन हुँदा काम ठप्प भएको छ। संघीय सरकारले गएको भदौमा तत्कालीन आयोजना प्रमुखको सरुवा गरे पनि अहिलेसम्म नयाँ प्रमुख पठाइएको छैन।
कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्ष २०८२/८३ का लागि छुट्याइएको २२ करोड ९७ लाख रुपैयाँ बजेट कार्यान्वयन हुन सकेको छैन। साथै, कडा चट्टानी भागमा विस्फोटक पदार्थ प्रयोग गरेर सडक निर्माण अघि बढाउन नसकिएको आयोजनाका सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिए।
उनका अनुसार बैतडीका पाँच स्थान — शिवनाथ, रोडीदेवल, बिजुल, बठ्ठा भीर र कन्सनी खोलाको भीरमा बारुद पड्काएर ट्रयाक खोल्नु पर्ने छ। विस्फोटक पदार्थका लागि स्वीकृति भइसकेको भए पनि नेपाली सेनासँग समन्वय गर्न प्रमुख अभावले ढिलाइ भएको बताइएको छ।
वि.सं. २०६६ देखि निर्माण सुरु भएको करिडोरले सबैभन्दा बढी १४४ किलोमिटर भाग बैतडीमा ओगटेको छ। हालसम्म २८१ किलोमिटर ट्रयाक खोलिएको छ।
कञ्चनपुरमा ११, डडेल्धुरामा ५८, बैतडीमा १४४ र दार्चुलामा १२१ किलोमिटर गरी जम्मा ३३४ किलोमिटर सडक संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले निर्माण गर्दैछ।
दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी सडक नेपाली सेनाले बनाइरहेको छ। सेनाले हालसम्म १७ किलोमिटर सडक निर्माण पूरा गरेको छ।
वि.सं. २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि ‘महाकाली करिडोर’ नामाकरण गरिएको यो सडक नेपाल–चीन सीमाको पिल्लर नम्बर १ सम्म पुग्नेछ। यसमार्फत व्यापारिक आवागमन र कैलाश मानसरोवर यात्राका लागि वैकल्पिक मार्ग बन्ने अपेक्षा गरिएको छ।
हालसम्म करिडोरमा ३ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खर्च भइसकेको छ भने १ अर्ब ५२ करोड भुक्तानी दिन बाँकी छ। परियोजना सम्पन्न गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सामाजिक अगुवाहरूका अनुसार, न्यून बजेट र प्रशासनिक ढिलासुस्तीका कारण करिडोरको काम समयमै अघि नबढ्दा स्थानीयवासी निराश बनेका छन्।
