काठमाडौँ, कात्तिक १४
प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका सम्भावित असरबारे अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नै कार्यकक्षमा बोलाएर मलेसियाको नयाँ नीति र त्यसले नेपालका वैदेशिक रोजगार व्यवसायमा पार्न सक्ने प्रभावबारे जानकारी लिएकी हुन्।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डको विवरण प्राप्त भइसकेको र त्यसको कूटनीतिक रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले यस विषयमा परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच समन्वय गरी प्रभावकारी उपाय निकाल्न पनि निर्देशन दिएकी छन्।
नेपालका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये ९०० कम्पनी मलेसियामुखी व्यवसायमा निर्भर रहेका छन्। मलेसियाको नयाँ मापदण्डले करिब एक दर्जन ठूला कम्पनी मात्रै त्यहाँ कामदार पठाउन योग्य हुने परिस्थिती सिर्जना गर्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ।
