काठमाडौ, कात्तिक १४ गते
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो भोल्जले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र विकास सहयोगका विषयमा विचार आदानप्रदान भएको थियो।
प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि राजदूत भोल्जसँगको यो पहिलो भेट हो।
भेटमा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै, जर्मनी नेपालका प्राथमिकताअनुसार निरन्तर सहयोग गर्न तयार रहेको बताए।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीलाई सम्झौताअघि नै राहदानी छपाइको पूर्वतयारी अघि बढाउन अनुरोध गरेकी छन्। उनले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न यस कार्यमा जर्मन पक्षको सहयोगप्रति विश्वास व्यक्त गरिन्।
जवाफमा राजदूत भोल्जले उक्त कम्पनीलाई आवश्यक पहलका लागि अनुरोध गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका अधिकारीहरूको उपस्थिति थियो।
