काठमाडौं, कात्तिक
नेकपा (एकीकृत समाजवादी केन्द्र ) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमा फर्कन लागेको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानै घर फर्कन लागेको जानकारी दिए । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उनले स्पष्ट पारे ।
‘हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेको छौँ’, उनले भने । एमालेमा आफूहरू कुनै पदका आशा गरेर जान नलेको उनले स्पष्ट पारे ।
‘हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्न चाहन्छौँ, कुनै पद वा सशर्त घर फर्कने हाम्रो कार्यक्रम छैन, हामी निसर्त फर्कन्छौँ, हामीलाई केही चाहिएको छैन हाम्रो मूल घरमा, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ’, उनले भने ।
श्रेष्ठले माओवादीमा मिल्न लाग्नु भएको माधव नेपाल र नयाँ पार्टी घोषणा गर्न लाग्नु भएका घनश्याम भुसाललाई पनि शुभकामना दिए । आफूहरूले जाने र नजानेर एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै फर्कने वातावरण बनाइदिन पनि उनले एमाले नेतृत्वलाई अनुरोध गरे ।
‘हामीलाई विनासर्त घर फर्कने वातावरण बनाइदिनु अनुरोध गर्दछु’, उनले भने ।
