काठमाडौ , कात्तिक २२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि शनिबार साँझदेखि विमानस्थलको सम्पूर्ण उडान सञ्चालन अवरुद्ध भएको छ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार दिउँसो करिब ५ः३० बजे लाइटिङ प्रणालीमा समस्या आएको हो। ‘अहिले प्राविधिक टिम लागि परेको छ, हामी आशावादी छौँ चाँडै मर्मत भएर सञ्चालनमा आउनेमा,’ शेर्पाले नेपालखबरसँग भने, ‘तर कति समयमा समस्या समाधान हुन्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन।’
स्रोतका अनुसार रनवे नजिकै घाँस काट्ने क्रममा एक ट्र्याक्टरले लाइटिङ सिस्टमको तार काट्दा सम्पूर्ण प्रणाली बिग्रिएको हो।
समस्या आएपछि हालसम्म अन्तर्राष्ट्रिय तर्फ तीन वटा र आन्तरिक तर्फ दुई वटा उडान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ। बाँकी उडान आकाशमै ‘होल्ड’ अवस्थामा रहेका छन्।
हाल प्राविधिक टोली मर्मत कार्यमा जुटेको छ। प्रणाली मर्मत पूरा भएपछि मात्रै उडान सञ्चालन पुनः सुरु हुने विमानस्थलका अधिकारीहरूले बताएका छन्।
