काठमाडौं, कात्तिक २५
‘कानूनभन्दा माथि कोही छैन,’ प्रहरी सेवामा रहँदा बारम्बार उच्चारण गर्ने वाक्य अहिले पनि पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको जीवनको सिद्धान्त जस्तै बनेको छ। अपराध नियन्त्रणदेखि संस्थागत सुधारसम्म आफ्नो कार्यकालमा ‘कडा’, ‘सिस्टममैत्री’ र ‘निष्पक्ष’ भनेर चिनिएका खनाल अहिले राजनीतिक यात्राको तयारीमा छन्।
उनले अब निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी थालेका छन्। प्रहरीबाट अवकाश पाएपछि लामो समय स्वतन्त्र रूपमा सामाजिक अभियानमा सक्रिय रहेका खनाल अहिले नयाँ दलमार्फत ‘सुशासन र जिम्मेवार नेतृत्व’को बाटो खोल्न खोजिरहेका छन्।
खनालले २०४६ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। क्रमशः अपराध अनुसन्धान विभागदेखि केन्द्रीय अनुसन्धान ब्युरो हुँदै उनले २०७५ भदौमा प्रहरी महानिरीक्षकका रूपमा नेतृत्व सम्हाले।
उनको कार्यकालमा संवेदनशील अपराध अनुसन्धानमा सुधार, प्रहरी संगठनभित्र पारदर्शिता र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको प्रहरी अधिकारीहरू बताउँछन्।
उनको नेतृत्वमा काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरमा ट्राफिक व्यवस्थापन सुधार, प्रहरी आवास गृह निर्माण, तालिम प्रणाली अद्यावधिक र ‘स्मार्ट पुलिसिङ’ अभ्यास सुरु गरिएको थियो।
‘सर्वेन्द्र खनाल सर नियममा कडाइका साथ मानवताको भावना पनि मिसाएर निर्णय लिने व्यक्ति थिए,’ प्रहरी संगठनका एक पूर्व डिएसपीले स्मरण गर्छन्।
तर, अब खनाल ‘कमाण्डर’को होइन, ‘संयोजक’को भूमिकामा देखिँदैछन् , नयाँ राजनीतिक दलको।
अवकाशपछि उनी लामो समय सार्वजनिक गतिविधिबाट टाढा रहे।तर पछिल्ला महिनामा उनले केही सहकर्मी र नागरिक अभियन्तासँग नयाँ राजनीतिक विकल्पबारे छलफल तीव्र पारेका छन्।
उनको टोलीका अनुसार, यो दल कुनै ठूला पार्टीको प्रतिवादका रूपमा होइन, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिको सुरुवातका रूपमा अघि बढ्नेछ।
खनाल आफैंले भनेका छन् —मुलुकमा नेतृत्व र नीतिको अभाव छ। जनताले राजनीति भन्दा पनि सेवाभाव चाहेका छन्। प्रहरीमा हुँदा अपराधसँग लड्यौं, अब अन्याय र असक्षमतासँग लड्ने समय आएको छ।’
खनालले केही अघि नेकपा एमालेमा प्रवेश गरेका थिए। उनी काठमाडौं क्षेत्र नं. ६ र तनहुँबाट चुनाव लडिसकेका थिए ।
तर अहिले उनी कुनै दलसँग औपचारिक रूपमा आबद्ध छैनन्।उनले एमाले प्रवेशलाई ‘अनुभवको अभ्यास’ भनेका छन्, र नयाँ दल गठनलाई ‘सैद्धान्तिक स्वतन्त्रताको यात्रा’को रूपमा लिएका छन्।
उनका निकट वृतका अनुसार, उनले बनाउने दलको मुख्य उद्देश्य नीति र नतिजा–केन्द्रित राजनीति स्थापना हुनेछ, जसमा सुरक्षाकर्मी, प्रशासक, युवा तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व रहनेछ।
खनालले प्रहरी सेवामा रहँदा धेरै चुनौतीपूर्ण अपराध अनुसन्धान गरेका थिए। काठमाडौं उपत्यकामा हत्या, अपहरण, ठगी र ठूला आर्थिक अपराध नियन्त्रणमा उनले विशेष फोकस दिएका थिए।
नक्कली दस्तावेज कारोबारदेखि मानव बेचबिखनसम्मका विषयमा उनले कठोर कारबाही गरेका थिए।यही अनुभवलाई उनले अब राजनीतिक स्तरमा रूपान्तरण गर्न खोजिरहेका छन्।
खनालले बनाउँदै गरेको दलको नाम अहिले सार्वजनिक गरिएको छैन, तर निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ।
खनालको राजनीतिक प्रवेश केवल सत्ता खोज्ने अभियान होइन, ‘नीति र चरित्र’ आधारित राजनीतिमा फर्किने प्रयासका रूपमा देखिएको छ।
उनले युवालाई राजनीति बाहिर होइन, राजनीतिक सुधारको केन्द्रमा ल्याउने घोषणा गरेका छन्।
खनालको यो राजनीतिक यात्रा कुनै सामान्य संक्रमण होइन।उनी ‘कानूनको कठोर अनुशासन’बाट ‘राजनीतिक निष्ठाको’ यात्रा गर्दैछन्।
उनले प्रहरीमा जस्तै राजनीतिमा पनि स्पष्ट नियम र पारदर्शी निर्णय प्रक्रिया स्थापित गर्न सके भने, यो दल केवल वैकल्पिक शक्ति होइन, राजनीतिक सुधारको प्रयोगशाला बन्न सक्ने विश्लेषकहरू बताउँछन्।
