काठमाडौं, कात्तिक २८
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासको घरबेटी रहेका शारदा प्रसाद अधिकारी ‘फरार’ सचीमा परेका छन् ।
नुवाकोटे व्यापारी अधिकारी करिब एक करोड रुपैयाको बिगो तिर्न नसकेर फरार भएका हुन् । उनी विरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएपछि लामो समयदेखि उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ । उनलाई जगदम्बा स्टिल्स कम्पनिका प्रतिनिधि विजय तिमल्सेनाले बैंकिङ कसुरको जाहेरी दिएका हुन् ।
शारदाको स्वामित्वमा रहेको सिपेल शैलुङ जेभी नामक कम्पनिले जगदम्बा स्टिल्सबाट खरिद गरिएको स्टिल्स लगायत निर्माणजन्य सामग्री बापतको ९७ लाख १३ हजार ८ सय ४५ रुपैयाँ रकम नतिरेको र पटक पटक गरि ५० लाख ८ हजार ९ सय ४९ रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो ।
२०८१ साउन १७ गतेको मिटिमा साट्नु भनि दिएका चेकहरु नसाटिएपछि पीडित कम्पनिका तर्फबाट चेक बाउन्सगरि मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालय काठमाडौंले उनी विरुद्धको अभियोग पत्र अदालतमा बुझाएको छ ।
अधिकारी अदालतको फरार सुचीमा छन् ।तत्कालिन माओवादी अध्यक्ष बस्दै आएको खुमलटारस्थित निवास जेनजी आन्दोलनका क्रममा जलेको छ । प्रचण्ड अहिले नयाँ पार्टीसँगै नयाँ निवासमा सरेका छन् । उनी छोरी रेणु दाहालको हरिसिद्धिस्थित घरमा बस्दै आएका छन् । जेनजी आन्दोलनमा रेणु दाहालको घर भने जोगिएको थियो ।
