कास्की , मंसिर ४
नेपालको अर्धनिषेधित क्षेत्रको रुपमा परिचय कमाएको उपल्लो मुस्ताङ दैनिक ५० डलरमा खुला गरिएको छ । अबदेखि त्यहाँ घुम्न जाने विदेशी पाहुनाले प्रतिदिन ५० अमेरिकी डलरका दरले शुल्क तिर्नुपर्ने भएको हो । यसअघि विदेशी पाहुनाले एकमुष्ठ ५ सय डलर तिर्नुुपर्ने बाध्यता थियो । दैनिक ५० डलरका दरले शुल्क तिरेर घुम्न पाउने भएपछि उक्त क्षेत्रमा विदेशी पाहुनाको आकार ह्वात्तै बढ्ने अपेक्षा स्थानीयको छ ।

उक्त क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले यसअघि कम्तिमा १० दिनका लागि अनुमति लिएर शुल्क तिर्नुपर्ने बाध्यता थियो । यात्रामा एक्लै जान नपाउने र समूह (कम्तिमा २ जना) हुनैपर्ने बाध्यता पनि थियो । तर, अबदेखि पाहुनाले आफुले बस्न चाहेको दिन अनुसार प्रतिदिन ५० डलरका दरले शुल्क तिरे पुग्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने उक्त स्थानमा घुम्न जाँदा तिर्नुपर्ने महंगो शुल्ककै कारण विदेशी पाहुनाहरु हच्किने समेत गरेका थिए ।
एक्याप जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले प्रतिदिन ५० डलरका दरले शुल्क तिरेर घुम्न जान पाउने भएपछि माथिल्लो क्षेत्रमा विदेशी पाहुनाको आकार बढ्ने अपेक्षा रहेको बताए । ‘यसअघि दशदिनका लागि ५ सय अमेरिकी डलर तिर्नैपर्ने बाध्यता थियो । तर, अब भने त्यो बाध्यता कम भएको छ । आफुलाई बस्न मन लागेको दिनको हिसाब गरेर प्रतिदिन ५० डलरका दरले तिरे पुग्नेछ,’ उनले भने । उनका अनुसार यसअघि कुनैपनि विदेशी १० दिन भन्दा बढी बस्नुपर्दा प्रतिदिन ५० डलरका दरले शुल्क बुझाउनु पर्दथ्यो ।

‘दशदिनको अनुमति लिनैपर्ने र एकमुष्ट ५ सय अमेरिकी डलर तिनुपर्ने बाध्यताले विदेशी पाहुना माथिल्लो क्षेत्रमा जान रुचउँदैनथे । दशदिन भन्दा कम समय बसेको खण्डमा महंगो पर्दथ्यो । तर, अब भने दिनको ५० डलरका दरले तिरे हुनेछ,’ उनले भने, ‘अघिल्लो प्रावधान अनुसार एकसाता बस्दा ५ सय डलर पर्दथ्यो । तर, अब भने एकसाता बस्ने पर्यटकले प्रतिदिन ५० डलरका दरले ३ सय ५० डलर तिरे पुग्नेछ ।’
गुप्ताका अनुसार उक्त क्षेत्रमा प्रवेश शुल्क महंगो परेको भन्दै स्थानीयले शुल्क घटाउन बारम्बार आग्रह गर्दै आएका थिए । मोटरको पहुँच नपुगेको बेला जोमसोमबाट माथिल्लो क्षेत्र घुमेर फर्किदाको समयलाई मध्यनजर राख्दै उक्त शुल्क लागु गरिएको भएपनि अहिले त्यो यात्रा सहज बनेको उनले बताए । ‘सडक पहुँच सहज नहुँदासम्म जोमसोमसम्म जहाजमा गएका पाहुना हिडेरै लोमान्थाङ पुगेर फर्किदा १० दिन जति लाग्थ्यो । त्यही हिसाबले ५ सय डलर शुल्क तोकिएको थियो,’ गुप्ताले भने, ‘अहिले त एकैदिनमा जोमसोमबाट गएका पाहुना नेपाल–तिब्बत सिमाना कोरला नाका पुगेर फर्किन सक्छन । त्यसैले अहिलेका लागि त्यो शुल्क अलि अव्यवहारिक थियो । तर, अब भने सस्तो पर्नेछ ।’
सरकारले मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपाकिाको पुरै क्षेत्र तथा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–३ को केही गाउँलाई अर्धनिषेधित क्षेत्रको रुपमा राखेको छ । गुप्ताका अनुसार शुल्क घटेसँगै अहिले भन्दा बढी संख्यामा विदेशी पर्यटक माथिल्लो मुस्ताङ उक्लिने अनुमान छ । अहिले वर्षमा हजारौं भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न मुस्ताङ पुग्छन । तर, महंगो शुल्ककै कारण ती पर्यटकहरु माथिल्लो क्षेत्रमा घुम्न जानबाट रोकिने गरेका थिए । दैनिक शुल्कका दरले तिरेर जान पाए जान हुन्थ्यो भन्ने उनीहरुको भनाई हुने गरेको थियो ।
‘अबको समय माथिल्लो क्षेत्रमा जाने विदेशीको संख्या अहिले भन्दा निकै नै माथि हुने अनुमान छ । मुक्तिनाथ गएर फर्किनुपर्ने बाध्यतामा रहेका पर्यटकहरु अरु लोमान्थाङसम्म पनि घुम्न जानेछन,’ उनले भने, ‘पाहुनाको आकार कोरला नाकासम्म बढ्नेछ । त्यसले त्यहाँको पर्यटन क्षेत्रमा लाभ दिलाउनेछ ।’

गत आर्थिक वर्षमा मुस्ताङको उक्त अर्धनिषेधित क्षेत्रमा मात्र करिब ३६ सय विदेशी पाहुना भ्रमणमा गएका थिए । एक्यापका अनुसार मुस्ताङको उक्त क्षेत्रमा मात्र सन् २०२३ मा ३ हजार ४ सय ८४ जना विदेशी पर्यटक पुगेका थिए । यो संख्या सन् २०२२ मा ३ हजार १ सय १२ जना थिए । २०२१ मा भने जम्मा ३ सय ३७ जना मात्र गएका थिए ।
पछिल्लो २० वर्षमा सबैभन्दा बढी सन् २०१४ मा मुस्ताङको निषेधित क्षेत्रमा जाने विदेशीको संख्या ४ हजार १ सय ४७ रहेको थियो ।
लोमान्थाङका अगुवा इन्द्रधारा विष्ट दशदिन अनिवार्य गर्दै प्रतिव्यक्ति ५ सय डलर महंगो शुल्क परेकोमा अब सस्तो पर्ने बताउँछन । उनका अनुसार अर्धनिषेधित क्षेत्रमा जाँदा यसअघि एक्लै जान नपाउने र कम्तिमा ५ सय डलर तिर्नुपर्ने बाध्यताले पर्यटकलाई महंगो परेकोमा अब भने केही सहज हुनेछ ।
‘सरकारले समूहमा मात्र जान पाइने प्रावधान राखेर शुल्क लिँदै आएको थियो । त्यो अवस्थामा कम्तिमा दुइजना जानैपर्ने बाध्यता थियो । त्यो हिसाबले पनि एकहजार डलर (प्रतिव्यक्ति ५ सय) परेको थियो । तर, अब दिनकै ५० डलर तिरेर जान पाउँदा पर्यटकको आकार पक्का बढ्नेछ,’ उनले भने, ‘अबपनि दिन तोकेर बस्नैपर्ने बाध्यता बनाउनु हुँदैन । तर, प्रतिदिन ५० डरले जान पाउने हुँदा पर्यटकलाई सहज हुन्छ । स्थानीयले लामो समयदेखि यो माग राख्दै आएका थिए ।’
जोमसोमबाट सुरु हुने उपल्लो मुस्ताङको पदयात्रा जोमसोममै फर्केर टुंगिन्छ । तिब्बतको सिमामा पर्ने यो क्षेत्र विदेशी पर्यटकको लागि आकर्षक गन्तव्यस्थल मानिन्छ । उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि वर्षेनी विभिन्न देशका पर्यटक त्यहाँ पुग्ने गर्छन् । सांस्कृतिक सम्पदाका रुपमा रहेका सयौंवर्ष पुराना मन्दिर, दरवार, गुम्बा लोमान्थाङका प्रमुख आकर्षक भ्रमणयोग्य केन्द्र हुन् ।
उपल्लो मुस्ताङको पदयात्रा जाने पर्यटकले काठमाडौं वा पोखराको अध्यागमन कार्यालयमा शुल्क तिरेर अनुमति लिनुपर्छ । ट्रेकिङ एजेन्सीले उक्त क्षेत्र जाने पर्यटकको सम्पुर्ण बन्दोबस्त मिलाएपछि मात्र अध्यागमनले अनुमति दिन्छ । सन् २००८ देखि अध्यागमनको पोखरा कार्यालयले पनि स्विकृति दिन थालेको छ । त्यसअघि उक्त क्षेत्रको पदयात्रा जाने पर्यटकले राजधानीको अध्यागमन कार्यालयबाट मात्र स्विकृति पाउँथे ।
अर्धनिषेधित क्षेत्रमा पर्ने यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटकका लागि खुल्ला गरिएको थियो । उक्त क्षेत्रमा सन् २००९ अघि प्रवेश शुल्क ७ सय डलर थियो । सन् २००९ देखि शुल्क कटौती गरिएको थियो । पर्यटकले बसाई लम्बाउन चाहे थप शुल्क तिर्नुपर्छ । लोमान्थाङ जाँदा कम्तिमा २ जना विदेशी पाहुना हुनुपर्छ । सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङ खुला गर्दा त्यो वर्ष ४ सय विदेशीले घुमेका थिए ।
