काठमाडौ मंसिर ४
क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया तथा हिन्दु–बौद्धिष्ट फाउण्डेशन क्यानडाका प्रतिनिधिलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
मंगलबार प्रान्तीय सरकारका खनिजमन्त्री जग्रुप बरारले सभामा रहेको नेपाली समुदायलाई स्वागत गर्दै उनीहरूले क्यानडाको बहुसांस्कृतिक पहिचान मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गरे।
उनका अनुसार, ब्रिटिस कोलम्बियाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरूले सांस्कृतिक विविधता बढाउन उल्लेखनीय योगदान दिएका छन्।
प्रान्तिय सभामा बोल्दै मन्त्री बरारले नेपाल कल्चर सोसाइटीका अध्यक्ष राजु भट्टराई, उनकी श्रीमती मधु भट्टराई, हिन्दु–बौद्धिष्ट फाउण्डेशनका सचिव परासर मल्ल, राज सिग्देललगायतलाई औपचारिक रूपमा स्वागत गरेका थिए । फाउण्डेशनका अध्यक्ष मधुसुधन आचार्य भने मातृशोकका कारण नेपालमै रहेकाले उपस्थित हुन सकेनन्।

अध्यक्ष भट्टराईका अनुसार सन् २०२६ मे २९ लाई नेपाल डे’ घोषणा गर्ने प्रस्ताव प्रिमियर डेभिड एबी, श्रममन्त्री रवी कालो, प्रान्तीय सांसद तथा सभासचिव आम्ना साहलगायतले सकारात्मक रूपमा सुनिरहेका छन्। सगरमाथा पहिलो पटक आरोहण भएको दिनलाई आधार मानेर नेपाल डे मनाउने तयारी भइरहेको उनीहरूको भनाइ छ। प्रस्ताव कार्यान्वयनका लागि अझ दुई चरणको छलफल बाँकी रहेको पनि अध्यक्ष भट्टराईले जानकारी दिए।
उनका अनुसार, प्रान्तीय सरकार र सभाबाट प्राप्त सम्मानले नेपाली समुदायको गतिविधि र योगदानप्रति विश्वसनीयता झनै बढेको छ। नेपाल डे सफलतापूर्वक मनाइएपछि नेपाली भाषा, संस्कृतिले सरकारी मान्यता पाउने र नेपाली पहिचान अझ मजबुत रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
ब्रिटिस कोलम्बिया सरकारले पहिलोपटक नेपाल डे’ लाई आधिकारिक रूपमा मनाउन तयारी गरेको हो। यसअघि निजी पहलमा नेपाल डे मनाइँदै आएको भए पनि सरकारी समन्वयमा आयोजना हुने यो पहिलो अवसर हुनेछ। २०१३ देखि क्यानडामा उद्यम सञ्चालन गर्दै करिब ४० जनालाई रोजगारी प्रदान गर्दै आएका अध्यक्ष भट्टराई र समुदायको निरन्तर प्रयासपछि उक्त निर्णय कार्यान्वयनको चरणमा पुगेको हो।
नेपाल कल्चर सोसाइटीले समुदायसँग परामर्श गरी सगरमाथा आरोहण दिवसलाई नै नेपाल डेको रूपमा घोषणा गर्ने तयारी गरेको हो। नेपालीहरूको एकजुट सहमति पनि यही मितिमा देखिएको अध्यक्ष भट्टराईको निष्कर्ष छ।
सन् २०२६ नेपाल–क्यानडा कूटनीतिक सम्बन्ध स्थापनाको ६१ औँ वर्ष पनि हुने भएकाले पहिलो नेपाल डे ऐतिहासिक रूपमा अझ महत्त्वपूर्ण बन्ने अपेक्षा गरिएको छ। नेपाल–क्यानडा कूटनीतिक सम्बन्ध १९६५ जनवरी १८ मा स्थापित भएको हो।
२०२१ को क्यानडाली जनगणना अनुसार ब्रिटिस कोलम्बियामा मात्रै झन्डै २१ हजार नेपाली बसोबास गर्छन्, यद्यपि विद्यार्थी तथा अन्य भिसामा आउनेसँगै यो संख्या अझ धेरै हुने अनुमान छ।
