काठमाडौं, मंसिर ४
विभिन्न २३ जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै सरकारले फिर्ता हुनुपर्ने माग गरेका छन्। उनीहरूले बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्।
समूहहरूले कार्की नेतृत्वको सरकार ‘विद्रोहको मूल भावनाबाट विमुख भएको’ दाबी गर्दै सरकार केवल चुनाव गराउने एजेन्डामा केन्द्रित भई दिशाहीन बन्दै गएको उल्लेख गरेका छन्। उनीहरूको भनाइमा, जेन–जी आन्दोलन र सहादत केवल प्रारम्भिक निर्वाचनका लागि नभएकाले आन्दोलनका न्यूनतम माग तत्काल सम्बोधन गर्न आवश्यक छ।
ज्ञापनपत्रमा भनिएको छ, “यो विद्रोह अर्ली इलेक्सनका लागि मात्र थिएन। तसर्थ, सरकारले विद्रोही पक्षका माग तत्काल सम्बोधन गर्नुपर्छ।”
यदि सरकार सो माग सम्बोधन गर्न असमर्थ हुने हो भने प्रधानमन्त्रीलाई फिर्ता बोलाई नयाँ सरकार गठनको प्रक्रियामा राष्ट्रपतिले सक्रिय मध्यस्थता गर्नुपर्ने माग समूहले गरेको छ।
माग पूरा नभए फेरि ‘शान्तिपूर्ण आन्दोलन र दबाबका कार्यक्रम’ सुरु गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
ज्ञापनपत्रमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एन–टेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी पार्लियामेन्ट, स्वतन्त्र जेनजी नेपाललगायत २३ समूह तथा एलाइन्सका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
