काठमाडौ, मङ्सिर ४,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार दिने भएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो सम्पर्क कार्यालयमा मंसिर ९ गते पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
एमालेको ११औँ महाधिवेशन यही २७ देखि २९ मंसिरमा काठमाडौंमा हुँदै छ ।एमालेले पार्टीको सक्रिय राजनीतिमा फर्कन चाहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगरेपछि उनको समेत समर्थनमा पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने मनस्थिति बनाएका हुन्।
भण्डारीले पनि पोखरेललाई अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारी गर्न आग्रह गरिसकेकी छन्। ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत सहयोगमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्ष पदमा दाबी प्रस्तुत गर्नु हुनेछ’, एमालेका एक नेताले भने, ‘उहाँको नेतृत्वमा अब टिम बन्नेछ र पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लगिनेछ।’
ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउने पक्षमा महासचिव शंकर पोखरेल लगायतका नेता देखिएका छन्। तर पोखरेलको पक्षमा यतिबेला कोही देखिएका छैनन्।
उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले पोखरेललाई साथ दिने सम्भावना रहे पनि उनीहरूले यो विषयमा केही बोलेका छैनन्। पोखरेलले भने आफू स्वाभाविक रुपमा अध्यक्षको दाबेदार रहेको बताइसकेका छन्।
ओलीका तर्फबाट महासचिव पोखरेलले महाधिवेशनका लागि तयारी गरिरहेका छन्। भण्डारीका तर्फबाट पनि पोखरेलको नेतृत्वमा टिम बनाउने तयारी भैरहेको छ। ओलीले प्रतिस्पर्धीविहीन बन्न पूर्वराष्ट्रपति भण्डारीको नवीकरण भइसकेको सदस्यता पनि रोकेर राखेका छन्। उनले पोखरेललाई पनि ‘साइज’मा राख्न खोजेका छन्। विधानबाट वरिष्ठ उपाध्यक्षको पद ओलीकै आग्रहमा हटाइएको हो।
