काठमाडौँ, मंसिर ४
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने प्रक्रिया अघि बढेको छ। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले संवैधानिक अधिकारअनुसार सरकारले सेना परिचालन गर्न सक्ने गरी सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकका सदस्यसचिव तथा रक्षा सचिव सुमनराज अर्यालका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सेना परिचालन आवश्यक ठहरिएको छ।
उनले भने, “परिषद् बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल भयो। संविधानले दिएको अधिकार प्रयोग गर्दै सरकारलाई सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।”
यसअघि राष्ट्रिय सुरक्षा समितिको बैठकले पनि रक्षा मन्त्रालयमार्फत सेना परिचालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। समितिको निर्णयअनुसार पठाइएको पत्र बिहीबारको परिषद् बैठकमा प्रस्तुत भई थप छलफलपछि सिफारिस औपचारिक रूपमा पारित गरिएको हो।
नेपालको कानुन अनुसार, राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षाको मूल्याङ्कन गरी सेना परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्छ। त्यसपछि मन्त्रिपरिषद् निर्णय गरी राष्ट्रपतिसमक्ष औपचारिक प्रस्ताव पेस गर्ने प्रक्रिया अघि बढ्छ।
