काठमाडौँ, मंसिर ५
नेपाल कांग्रेस विशेष महाधिवेशनको विवादमा फसेको छ । बारम्बार बैठक स्थगित गरेर निर्णय गर्न नसकेपछि कांग्रेसका केन्द्रीय नेतृत्व र पदाधिकारीहरु नै विवादमा फसेको हो । उनीहरुको योग्यता, क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा–हुँदै पनि केन्द्रीय कार्यसमिति महिनौँदेखि एउटै निर्णय गर्न सकिरहेको छैन । कांग्रेसका विभिन्न गुटका भेलाहरु भैरहेका छन् । गुटका भेलामा नेताहरुले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल चलिरहेको हुन्छ । तर केन्द्रीय कार्यसमितिको बैठकले त्यसमा निर्णय लिन सक्दैन ।
बिहीबार दिउँसो १ बजेलाई बोलाएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘थप छलफल आवश्यक परेको’ भन्दै शनिवार सम्मका लागि स्थगित गरेर सभापति शेरबहादुर देउवाको शरणमा पुगेका छन् । यो स्थगित चौथो पटक हो ।
पार्टी विधान अनुसार हरेक चार वर्षमा महाधिवेशन अनिवार्य गर्नुपर्छ । १४ औँ महाधिवेशन २०७८ मंसिरमा सकिएको थियो । अर्थात् २०८३ मंसिर मसान्तभित्र १५ औँ महाधिवेशन गरिसक्नुपथ्र्यो । अझै तालिकाको विषयमा कांग्रेसभित्र चर्को विवाद सुल्झेको छैन ।
विधानले विशेष कारण देखाएर एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरे पनि जेन–जी आन्दोलनको पृष्ठभूमिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २१ फागुनमा घोषित निर्वाचन अगाडि नियमित वा विशेष जे गरे पनि महाधिवेशन सम्पन्न गराउनुपर्ने अडान लिएका छन् । तर, विधानअनुसार मंसिरभित्र कार्यकाल सकिँदापनि संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने वैशाख अगाडि कुनै पनि हालतमा महाधिवेशनको तालिका ल्याउन सहमत छैनन् ।
उनीहरू वैशाखमा महाधिवेशनको तालिका ल्याउनुपर्ने पक्षमा छन्। तर, महामन्त्री द्वय २१ फागुनमा तोकिएको निर्वाचन वैशाखमा सर्न सक्ने र त्यसपछि फेरि निर्वाचनका बहानामा अर्को ६ महिना मिति सार्न चलखेल हुने आशंका गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम कात्तिक २७ मै सकिएको थियो। महाधिवेशनको विषयमा बैठकले गर्ने निर्णयमा दुई पक्ष नै अडानबाट टसमस नहुँदा कांग्रेस अनिर्णयको भूमरीमा फसिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केही सर्तसहित पुस मसान्तभित्रै १५ औँ महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अघि सारे पनि त्यसलाई महामन्त्री र विशेष महाधिवेशनका पक्षधर नेताहरूले महाधिवेशन गराउने नियत नभएको भन्दै स्वीकार गरेका छैनन । महाधिवेशन हुने सुनिश्चित आधारसहितको तालिका आउनुपर्ने उनीहरूको माग छ ।
