काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले आगामी २१ फागुनका लागि घोषित निर्वाचन प्रयोजनका लागि १४ मंसिरसम्म दल दर्ताको समय थपेको छ ।
आयोगको बुधबार साँझ बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । आयोगको कार्यतालिकामा आजसम्म दल दर्ताको समय दिइएको थियो ।आयोगका अनुसार बुधबारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १ सय ६ वटा दलले निवेदन दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन ९९ दिन बाँकी छ । आयोगका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मिुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाललगायत आयोगमा दर्ता भइसकेका छन् । आयोगमा दर्ता कायम रहेका नयाँ, पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन निवेदन दिइसकेको कर्मचारीहरूको भनाइ छ ।
यसअघि आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्न समय दिएको थियो । पार्टीहरूको आग्रहबमोजिम दल दर्ताका लागि थप ४ दिन समय दिइएको आयोगले जनाएको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न दललगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ’, आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको संख्या १३७ पुगेको छ । आयोगमा नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरूमाथिको कारबाही पनि जारी रहेको कर्मचारीले जनाएका छन् ।
आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूलाई आयोगमा दल दर्ता हुन मंसिर १ देखि ७ गतेसम्मको समय दिइएको र त्यस अवधिमा १३ वटा दलबाट दल दर्ता निवेदन प्राप्त भएको छ ।
