काठमाडौं, ११ मंसिर ।
कांग्रेसमा जारी विवाद अन्त्यका लागि भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू छलफलमा जुटेका भएपनि असफल भएको छ। कांग्रेसभित्र महाधिवेशन निर्वाचन अघि कि पछि यो विवाद विगत एक महिनादेखि चल्दै आएको सन्दर्भमा भएको छलफल असफल भएको हो ।पार्टीको १५औं महाधिवेशन चुनावअघि गर्ने कि, तत्कालै विशेष महाधिवेशन गर्ने कि, चुनावपछि नियमित महाधिवेशन गर्ने भन्ने विवाद समाधानका लागि नेताहरू जुटेका थिए । एक महिनाभन्दा लामो समयदेखि केन्द्रीय समिति बैठक बसे पनि महाधिवेशनको मिति अभैm टुंगो लाग्न सकेको छैन ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावअघि पार्टीको महाधिवेशन हुने कुनै आधार आफूले नदेखेको बताएका छन् । ‘पुसभित्र महाधिवेशन हुने कुनै सम्भावना देख्दिनँ। निर्वाचनमा जाने कुरा प्रत्युत्पादक पनि हुन्छ। सबै विधि प्रक्रिया पु¥याएर गर्न भ्याइँदैन। भन्नलाई त आजै गर्छु भोलि नै गर्छु भनेपनि भयो नि ! कार्यवाहक सभापतिजिले सबैसँग सहमतिको प्रयासका लागि काम गरिराख्नुभएको छ। उहाँले नै बैठक टुंग्याउनुहुने हो,’ प्रवक्ता महतले भने ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरको बुधबार काठमाडौंमा भेला भयो । उक्त भेला आगामी केन्द्रीय समितिलाई महाधिवेशनको मिति तोक्नका लागि दबाब दिन राखिएको थियो। कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ । त्यसबारे असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय लिन सकेको छैन ।
उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई दबाब बढाइरहेका छन् । कांग्रेसको शुक्रबारको बैठकमा निर्वाचन पछिको कार्यतालिका ल्याउनका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का शीर्ष नेता तथा पदाधिकारीसँग छुट्टाछुट्टै छलफलमा छन् ।
कांग्रेसमा पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार देखिन्छ । तर, त्योभन्दा अगाडि विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता हुनुपर्छ भन्दै आएको छ । अर्कोतिर विशेष महाधिवेशनको माग गरिरहेको संस्थापन इतर पक्ष नियमित महाधिवेशन महामन्त्री गगन थापाले प्रस्ताव गरेको पुस १६ गतेदेखि हुने गरी तालिका ल्याउन तयार छ। हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने उनीहरूको तर्क छ ।
दुवै पक्षका अडान यथावत छन् । सहमति गराउन शीर्ष नेता लागेका छन् । सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनका पक्षमा छैनन् । पुसमा नियमित महाधिवेशन गराउन केही हदसम्म देउवा सहमत भए पनि हस्ताक्षर फिर्ता नगर्ने अडानमा विशेष पक्षधर छन ।
पार्टीको निकासका लागि अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै आफूहरूले दबाब दिनका लागि भेला आयोजना गरेको नेता गुरुराज घिमिरेले बताए । नेता घिमिरेले संसारका कीर्तिमान भंग हुने गरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।
बैठकमा बोल्दै घिमिरेले चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए । ‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ। जम्मा २३ दिन। हाम्रो डेढ महिना पुग्दैछ । संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त ‘असोज, कात्तिक, मंसिर’ महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं,’ घिमिरेले भने ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते उनीहरूले प्रस्ताव दर्ता गरेका थिए । विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गरिसक्नुपर्ने भए पनि संस्थापन पक्षले टार्न खोजेको भन्दै उनीहरू रुष्ट छन् । तर अहिले संस्थापन पक्षले यो विषयलाई छ.टार्न खोजिरहेको छ । महामन्त्री थापा र शर्माले भने समयमा महाधिवेशन गर्न आग्रह गर्दै आएका छन् ।
