काठमाडौं, १६ मंसिर ।
नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्लाको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया रद्द गरेको छ । जिल्ला सदरमुकाममा सम्पन्न भनिएको प्रतिनिधि छनौट प्रक्रिया विधि र निर्देशन विपरीत भएको भन्दै केन्द्रले त्यसलाई अस्वीकार गरेको हो।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनौट गरिएको उल्लेख छ। साथै, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ।
केन्द्रले जिल्ला कमिटी ओखलढुङ्गालाई पत्र काट्दै प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न कडा निर्देशन दिएको छ । यसले गर्दा एमालेभित्रको लडाई पेचिलो बन्ने अवस्था देखिएको छ ।
