काठमाडौ, १८ मङ्सिर ।
एमाले महाधिवेशन काउन्ट डाउनको नौ दिनअघि अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेलले गुण्डु भेटवार्तामा जोडघटाउ गरेका छन ।
ओलीलाई भेट्न पोखरेलसहित उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य,सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई विहिबार गुण्डु पुगेका थिए ।
त्यसक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफू सहज जितको अबस्थामा रहेको भन्दै सर्बसम्मतिको पक्षमा योगदान गर्न आग्रह गरेका थिए । तर, पोखरेलले भने आफूले यसअघि नै सचिवालय बैठकमा उम्मेद्वार बन्ने जानकारी गराएर तयारी गरेकाले जित–हार जेसुकै भए पनि जसले जित्दा पनि पार्टी र देशले जित्नुपर्ने विषयमा मात्र आफ्नो सरोकार रहेको बताएका थिए ।
‘म जित्छु, तपाईंले सर्बसम्मतीका लागि योगदान गर्नुभए राम्रो सन्देश जान्छ’ ओलीको त्यस्तो भनाई आएपछि शाक्यले जवाफ फर्काएकी थिइन्,‘तपाईंहरु दुवै जना उम्मेद्वार बन्ने कुरा सचिवालय बैठकबाट जानकारी भइसकेको छ, अब यतिबेला तयारी अघि बढिरहेका बेला कसले कसलाई बस भन्ने बरु स्वस्थ निर्वाचन गर्नेतिर छलफल र सल्लाह गरेर समझदारी बनाउनु उपयुक्त हुन्छ ।’ शाक्यको सो आग्रहपछि ओलीले पनि आफू सर्बसम्मति नभए स्वस्थ प्रतिस्पर्धाकै पक्षमा रहेको बताएका थिए ।
‘उहाँहरुबीच जसले जिते पनि जसले हारे पनि महाधिवेशनपछि पार्टी चाँही बन्नुपर्छ भन्ने राम्रो समझदारी भयो, ओली कमरेडले पनि आफू स्वस्थ प्रतिस्पर्धाकै पक्षमा रहेको जानकारी गराउनुभो, यो एमाले पंक्तिका लागि राम्रो कुरा हो ।’
