काठमाडौं, १९ मंसिर ।
सहकारी ठगी मुद्धामा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटन जानेहरुको लर्को लाग्ने गरेको छ । तोकिएको समयमा निर्वाचन भए अबको ९० दिनमा मतदान हुने भएकाले वैकल्पिक शक्ति निर्माणमा लागेका समूहहरु यतिबेला रविलाई भेट्न दिनहु नख्खु कारागार पुग्ने गरेका छन् । पछिल्लो केही दिन यता चिनिएका अनुहारहरूले भेटन जाने गरेका छन्। सहकारी ठगी र आपराधिक कसुरको पुर्पक्षका लागि लामिछाने ललितपुरको नख्खु कारागारमा छन् । उनलाई भेट्न विभिन्न राजनीतिक दलका नेता, कलाकारदेखि पत्रकार र अभियन्तासम्म पालो मिलाउँदै कारागार पुगिरहेका छन् ।
हालै साझा विवेकशील पार्टी रास्वापामा मिसिएको छ । नयाँ दल बनाएर राष्ट्रिय राजनीतिमा सक्रियता बढाउने संकेत गरेका कुलमान घिसिङ रास्वपाप्रति नरम देखिनुले आगामी निर्वाचनका लागि लामिछानेको शक्ति छाम्ने कसरत भइरहेको हो । भेट्न जानेहरू रविलाई सहानुभूति देखाउन पुगिरहेका छन् की आफ्ना लागि समर्थन खोज्न ? जवाफ प्रष्ट छैन । चुनाव नजिकिँदै जाँदा अन्य पार्टीका नेता र जेनजी अभियन्ता सुदन गुरुङले चुनाव केन्द्रित भेट गरे । भेटमा उनीहरूले रविप्रति सहानुभूति देखाउँदै आफ्ना लागि समर्थन खोजेका छन् ।
लामिछानेलाई भेट्न कारागार पुगेका गुरुङले भने यो कुरा लुकाएनन् । उनले नख्खु जानुअघि सार्वजनिक रुपमै लेखे, ‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।’ गुरुङ र लामिछानेबीच भएको करिब एक घण्टा लामो भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा समेत छलफल भएको उनले सुनाए ।
‘मुख्यतः २ वटा कुरामा छलफल भयो । पहिलो, जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को आफूविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्ने विषयमा उहाँले भन्नुभयो,’ उनले भने ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस्, हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस् ।’ रविको यस्तो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताएको जानकारी दिए । उनले भने, ‘न्यायालयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्यो भनेर हामीले पहल गर्छौं भन्यौँ ।’ भेटमा लामिछानेले अरुसँगको भेटमाजस्तै यसअघिको सरकारले आफूमाथि प्रतिशोध साँधेको दोहोर्याए ।
केही दिन अघि लामिछाने भेट्न कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्ल पनि पुगेका थिए । भेटमा आगामी निर्वाचनबारे कुरा भएको मल्लले बताए । ‘आउने निर्वाचनमा रास्वपासहित परिवर्तनकारी दलहरूले मलाई सहयोग गरुन् भन्ने आग्रह गरेँ,’ उनले भने, ‘रास्वपा मात्र होइन अहिले कुनै पनि पार्टी प्रवेश गर्दिनँ । घण्टी चुनाव चिन्ह लिएर चुनावमा लड्ने हुनसक्छ ।’ मल्ल अघिल्लो निर्वाचनमा डडेलधुरामा उम्मेदवार थिए ।
विघटित प्रतिनिधिसभाका सदस्य सुनिल शर्माले पनि नख्खु पुगेर लामिछानेलाई भेट गरे । भेटमा पनि शर्माले लामिछानेप्रति सहानुभूति देखाएर समर्थन खोज्ने प्रयास गरेको उनी निकट कार्यकर्ताले बताएका छन् ।
रास्वपा प्रवेश गररे आगामी निर्वाचन उम्मेदवार बन्न इच्छुक केही सञ्चारकर्मीले पनि यसबीचमा लामिछानेसँग भेट गरेका छन् । चुनाव नजिकिँदै जाँदा रास्वपाको समर्थन खोज्ने र रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूले लामिछाने भेट्न खोजिरहेका छन् ।
सञ्चारकर्मी प्रकाश सुवेदी, कलाकार जितु नेपाल लगायतले लामिछानेसँग भेट गरेका थिए भने बिहीबार सुदन गुरुङले भेट गरे । जेनजी आन्दोलन ध्वंसात्मक भएको दिन लामिछाने आफूखुसी कारागारबाट बाहिरिएका थिए । उनी ‘फरार’ भएसँगै देशका विभिन्न कारागारबाट ठूलो संख्यामा कैदी फरार भए । निकै आलोचना भएपछि लामिछाने कारागारमा फिर्ता गएका हुन् । आन्दोलनका विषयमा छानबिन गर्न गठित समितिले बोलाएर लमिछानेको बयान लिइसकेको छ ।
