महोत्तरी, १९ मंसिर ।
महोत्तरीको हलखोरीबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–४ हलखोरी चोकमा जाँचको क्रममा भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीले जानकारी दिए ।
बिहार सीतामढी पटदौरा ग्राम पञ्चायत सिराहीपटिका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । कुर्मीले चढेर आएको होन्डा साइन मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको कटुवा पेस्तोल एक थान र गोली एक थान बरामद भएको हो ।
हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
