काठमाडौँ, १९ मंसिर । सरकारले सुरक्षा अंगमा कार्यरत कर्मचारीको राशन भत्ता र स्केल बढाउने गृहकार्य अघि बढाएको छ । प्रहरीको मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने चर्चा भइरहेको बेला गृह मन्त्रालयले प्रहरीको राशन स्केल बढाउन प्रस्ताव गसिकेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णय गरेर अर्थ मन्त्रालयसँग सहमति मागेका हुन् ।
राशन स्केल अन्य सुरक्षा निकाय सरह बनाउनुपर्ने प्रहरीको प्रस्ताव छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावमा छलफल गरेर गृह मन्त्रालयले रासन स्केल लाई समयानुकूल बनाउँदै डब्लुएचओ ले निर्दिष्ट गरेको न्यूनतम मापदण्ड अनुरूप बनाउनुपर्ने प्रस्तावमा सहमति प्रदान गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । राशन स्केल बढाउनुपर्ने प्रस्ताव सहमतिका लागी अर्थ मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता (सह सचिव) आनन्द काफ्लेले बताए । उनले भने, ‘राशन स्केल बढाउने प्रस्ताव अर्थमा गएको छ ।’
प्रहरीले अहिले खाइपाई आएको १६ आईटम क्यालोरीमा थप गरेर १९ आइटम बनाउनुपर्ने प्रस्ताव छ । काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर २०१ रुपैयाँ पाउँछन् । सो रकमले खाजा र खाना सहित ४ पटक खानुपर्ने व्यवस्था छ । त्यसलाई बढाएर सशस्त्र प्रहरी बल र नेपाली सेनाको सरह बनाउनुपर्ने प्रस्ताव गरिएको छ । नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम राशन पाउँदै आएका छन् । सशस्त्र प्रहरीले १९ आइटम पाउँछन् । सेना र सशस्त्र प्रहरीलाई पनि राशन भत्ता थप गर्ने तयारी भैरहेको छ ।
जिल्ला दररेट अनुसार राशन स्केल बढाउन प्रहरीले ३ वटा प्रस्ताव अघि बढाएको छ । २०७१ मा कायम गरिएको जिल्ला दररेट अनुसार २०७८ मा बढेको १५ प्रतिशत रकम प्रहरीले राशन बापत पाउँदै आएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने दररेट समितिले लागत अनुमान गर्ने कानुनी व्यवस्था छ । ढुवानी खर्चको आधारमा जिल्ला अनुसार दररेट फरक हुन्छ ।
गृह मन्त्रालयले पठाएको प्रस्ताव अनुसार प्रहरी कर्मचारीलाई १९ आइटम राशन स्केल बढाउँदा ३ अर्ब ६५ करोडसम्म आर्थिक दायित्व बढ्ने आकलन गरिएको छ । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार तीनवटा विकल्पमा राशन स्केल बढाउन अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ ।
राशन बापत प्रहरी कर्मचारीले अहिले नगद नै प्राप्त गर्छन् । सशस्त्र प्रहरीले भने सेन्टर मेस सञ्चालन गर्दै आएको छ । सेन्टर मेसमा हप्तामा ४ छाक मासु, अण्डा करी, सलाद र साग उपलब्ध गराइन्छ । काठमाडौँ उपत्यकामा सशस्त्रका जवानले दैनिक २०३ रुपैयाँ बराबरको राशन पाउँछन् । जिल्ला दररेट अनुसार मुगुमा ३ सय भन्दा धेरै राशन रकम दिइन्छ । तर, महँगी अनुसार मुगुमा त्यतिले नपुग्ने सशस्त्रका अधिकारीहरू बताउँछन् ।
