काठमाडौं, २० मंसिर
एमालेको आशन्न ११ औ महाधिवेशनमा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पूर्व अध्यक्ष अर्यालले नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइरहेका छन् । पार्टी निर्माण र विस्तारमा प्रचार क्षेत्रको बदलिएको भूमिकालाई मध्यनजर गर्दै आफूले उम्मेदवारी दिन लागेको भन्दै आफू निकट रहेका नेताहरुसँग भनिरहेका छन् । उनले औपचारिक रुपमा उम्मेदवारी भने घोषणा गरिसकेका छैनन ।
यही मंसिर २७ देखि २९ गतेसम्म एमालेको महाधिवेशन हुँदैछ । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष अर्याल लामो समयदेखि पार्टी प्रचारको मोर्चामा क्रियाशिल छन् ।
अर्याल कुशल संगठन मानिन्छन् । अर्याल प्रेस चौतारीको अध्यक्ष भएको बेला चौतारीले पत्रकारहरुको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियोहरुको संगठन सामुदायिक रेडियो प्रशारक संघ, रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), टेलिभिजन कर्मीहरुको संगठन, महिलाहरुको संगठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारहरुको संगठन नेपाल आदिवासी जनजाति महासंघ लगायतमा चौतारीले जित हासिल गरेका थिए ।
कुनै बेला न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेका अर्यालको नेतृत्वमा चौतारी रहेको बेला देशभरी संगठन निर्माणको साथै सञ्चारका सबै मोर्चाहरुमा चौतारीले जित हासिल गरेको थियो । यही कारण उनको कार्यकाल स्मरणीय मानिन्छ । पार्टी निर्माण र बिस्तारमा सञ्चारको भूमिका पहिलो बन्दै गएको कारण पार्टीको केन्द्रीय नेतृत्वमा सञ्चार क्षेत्रको प्रतिनिधित्व जरुरी रहेको उनको भनाई छ ।उनले चितवनमा सम्पन्न भएको १० औ महाधिवेशनमा पनि उम्मेदवारी घोषणा गरेर रोकिएका थिए । ‘यसअघि रोकिए,अब म रोकिन्न’, नेपाल चर्चासँग भने ।
